०१ असार २०८३, सोमबार

चिसापानीमा १ दशकपछि अत्यधिक वर्षा

साउन २६, २०८०
कैलाली
चिसापानीमा १ दशकपछि अत्यधिक वर्षा
प्रतिकात्मक तस्वीर

कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ सालयताकै बढी वर्षा भएको छ ।

वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार साउन २३ गते बिहान ४२४ दशमलव २ मिलीमिटर वर्षा मापन गरिएको छ । 

चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताइन् । 

‘माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो,’ उनले भनिन् । जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार साउन २४ गते १४३ दशमलव ९ मिलीमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरो समेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताए ।
 
अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । आगामी ३ दिनसम्म पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । आउँदो शनिवारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिलेको अवस्था हेर्दा शनिबारदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ । २ दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौं नागरिक प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् ।

कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौं परिवार विस्थापित भएका छन् । 

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटिया लगायत नदीले दुःख दिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्