२२ असार २०८३, सोमबार

पोखराको फोहोर व्यवस्थापन गर्न सहमति

साउन २६, २०८०
पाेखरा
पोखराको फोहोर व्यवस्थापन गर्न सहमति

पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापनमा २ हप्तादेखि उत्पन्न समस्या समाधान भएको छ ।

पोखरा महानगरले अस्थायी फोहोर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयको अवरोधपछि फोहोर व्यवस्थापनमा समस्या भएकोमा बिहीवार महानगर र फोहोर बिसर्जनका विरुद्ध गठित संघर्ष समितिबीच सहमति भएको हो ।

महानगरले फोहोर बिसर्जनस्थलमा फोहोर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयले फोहोर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहोर उठ्न सकेको थिएन । 

स्थानीयसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा र वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिएका थिए । वडाध्यक्षद्वयको पहलमा स्थानीय, संघर्ष समिति र महानगरबीच लामेआहालमै १८ महिना फोहोर विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।

सहमतिअनुसार फोहोर बोकेका गाडी बिर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्नेछ भने तत्कालै माटोले फोहोर पुर्ने कार्य आवश्यकतानुसार गर्नुपर्नेछ । बिर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री संकलन गरिने छैन ।

सहमतिअनुसार लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।

फोहोरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ । स्थानीयलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने र विभिन्न विद्यालयलाई सहयोग उपलब्ध गराउने लगायतका विषय सहमतिमा उल्लेख रहेको महानगर प्रमुख आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्