२८ जेठ २०८३, बिहीबार
एकपछि अर्को विवाद

रविलाई हरेक कदममा 'ब्याकफायर'– र्‍याट, मोबाइल क्लिनिकदेखि बेलगाम बोलीसम्म

साउन २६, २०८०
काठमाडौं
रविलाई हरेक कदममा 'ब्याकफायर'– र्‍याट, मोबाइल क्लिनिकदेखि बेलगाम बोलीसम्म

चर्चित टेलिभिजन प्रस्तोताको छविबीच जागिर छाडेर पार्टी खोलेको छोटो समयमै रवि लामिछानेले सनसनी मच्चाए ।

रविको नेतृत्वमा ७ असार २०७९ मा गठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसको ५ महिनामै भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जित्यो ।

घर-घरसम्म संगठन भएका कांग्रेस र एमालेका आधार इलाका भत्काउँदै २० सीट (उपचुनावमा थप एक सीट समेत २१) जितेपछि राष्ट्रिय राजनीतिमा रास्वपाको सनसनीपूर्ण उदय भएको थियो । तर अस्वाभाविक उदयपछि आवश्यकताअनुसार कौशलता र बुद्धिमत्ता देखाउन नसक्दा रास्वपा र यसका सभापति लामिछानेमाथि एकपछि अर्को ‘ब्याकफायर’ भइरहेको छ ।

चौथो शक्तिका रूपमा उदाएपछि छिटोछिटो सरकारमा पुगेका रवि तत्कालै बाहिरिए । सरकारलाई हेर्ने दृष्टिकोणमा विरोधाभाष, संसदीय राजनीतिमा अनुभवको कमी तथा बेलगाम अभिव्यक्तिका कारण लामिछाने शुरूबाटै आलोचित हुनुपरेको छ । यसबीचमा रविले सार्वजनिक खपतका लागि चालेका कतिपय कदम उनका लागि ‘ब्याकफायर’ बनेका छन् ।

आफ्नै निर्वाचन क्षेत्र रहेको चितवनमा मोबाइल हेल्थ क्लिनिक, सार्वजनिक बस, विदेश गएकालाई स्वदेशमै रोजगारी दिने, सुरक्षाकर्मी जस्तै वाकीटकी बोकाएर टीम खटाउने, संसदीय प्रक्रिया नबुझ्ने, गरीबको बार्दलीमा चढेर अनावश्यक ‘स्टन्ट’ गर्ने जस्ता विषयले रविलाई एकपछि अर्को आलोचनामा तानेका छन् ।

नयाँ दलको रूपमा नागरिक सरोकारका विषयमा काम गर्ने हुटहुटी भन्दै रविले चालेका सबैजसो कदमले अन्ततः उनैलाई निरन्तर ब्याकफायर भइरहेका छन् ।

पार्टी निर्णय र काम गराईमा रविको सचिवालय अघिअघि र पार्टी संरचना पछिपछि हुने क्रम पनि रास्वापा देखिन थालेको छ । 

संसदीय प्रक्रिया नबुझ्दाको बबन्डर

गत असार ३१ गते प्रतिनिधिसभामा प्रक्रिया नबुझिकनै रास्वपाले बबन्डर मच्चाएको थियो । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा प्रक्रिया नबुझ्दा रास्वपाले त्यत्तिकै बैठक अवरुद्ध गरेको थियो ।

विधेयकमाथि विरोधको सूचना अस्वीकृत भएपछि सभामुखको अनुमतिमा कानूनमन्त्री धनराज गुरुङले विधेयक टेबल गरे । त्यसपछि सभामुखले शिक्षामन्त्रीलाई अर्को विधेयक पेश गर्नका लागि समय दिएका थिए । तर, अर्को मन्त्रीलाई समय दिएपछि बल्ल रास्वपाका सांसदले पहिलेको विधेयकमा विरोध गर्न थाले ।

null

विधेयक टेबल गर्दा नै विरोध गर्ने वा मत विभाजन माग्नुपर्ने थियो । तर, टेबल भइसकेर अर्को मन्त्री बोल्न थालेपछि प्रक्रिया नै नबुझी रास्वपाका सांसदहरू वेल घेर्न पुगे । यसपछि सभामुखले बैठक नै रोकेर उनीहरूलाई प्रक्रिया बुझाउनुपरेको थियो । 

आफैंलाई केन्द्रमा राख्दा : रविका प्रयास स्टन्टमा परिणत

रवि लामिछाने चितवन २ बाट निर्वाचित भएको एक सय दिन पुगेकोमा अवसरमा गरेका केही कामले उनलाई ब्याकफायर गरिरहेका छन् ।

चितवनमा चलाइएको मोबाइल क्लिनिकको फन्डा पनि विवादित बन्न पुगेको छ । ६५ वर्षमाथि उमेर समूहका लागि टोल-टोलमा गएर उपचार गर्ने भन्दै प्रयोग गरिएको एम्बुलेन्स नै विवादमा पर्‍यो ।

पुरानो मेडिकल कलेज भरतपुरको ना २ ख ५६१९ को एम्बुलेन्स अनुमति नलिई रंग परिवर्तन गरेर मोबाइल क्लिनिकका रूपमा प्रयोग गरिएको भन्दै चर्को आलोचना भयो ।

पार्टीकै निलोरंग लगाएको र एम्बुलेन्स मेटाएर मोबाइल क्लिनिक लेखेका कारण रास्वपाको यो कदम विवादमा आएको हो । जनशक्ति र एम्बुलेन्स अस्पतालले दिए पनि पार्टीगत रूपमा रास्वपाले प्रचार गरेको भन्दै थप विवाद भयो ।

यस्तै अनुमतिबेगर निलो रङ लगाएर चितवनमा महिलाका लागि भन्दै चलाएको बसका कारण पनि विवाद भइरहेको छ । सामान्य कानूनी प्रक्रिया समेत नबुझी गरेको कामले उनलाई ब्याकफायर भएको छ । नेपालमा कुनै पनि सवारीको आफूखुशी रंग बदल्न पाइँदैन । त्यसका लागि अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ ।

‘विना ढेउवा’को रोजगारी पनि विवादमा

रविले आफू निर्वाचित भएको १ सय दिनकै अवसरमा १ सय जनालाई विना ढेउवा रोजगारी उपलब्ध गराउने भन्दै सामाजिक सञ्चालनमार्फत घोषणा गरे ।

नयाँ रोजगारी सिर्जनाभन्दा पनि भएकै रोजगारदातालाई भनसुन गरेर केहीलाई रोजगार दिने भन्दै उनले निकै प्राथमिकता दिएर विज्ञापन नै प्रकाशित गरे ।

विदेशबाट फर्किनेका लागि भन्दै प्रकाशित उक्त विज्ञापनको चौतर्फी आलोचना भयो । १५/२० हजारदेखिको जागिरको विज्ञापन खुलाएर विदेशबाट फर्किन आह्वान गर्दा सामाजिक सञ्जालमा व्यंग्य पनि गरियो ।

लाखौं रुपैयाँका लागि विदेश जान नागरिकहरूको लर्को लागिरहेको बेला रविले केही हजारको आश्वासन देखाउँदै रमिता देखाएको आरोप समेत लाग्यो ।

नीतिगत सुधार गरेर स्वदेशमा रोजगारी सिर्जनाको पहल गर्नुपर्नेमा ‘रिक्रुमेन्ट’ कम्पनीकै शैलीमा विज्ञापन आह्वान गर्दा उनलाई ब्याकफायर भयो ।

वाकिटकी र पोशाकको फन्डा

मुग्लिन कालीखोलामा पहिरो हटाउन भन्दै रास्वपाका कार्यकर्ताहरू प्रहरीको शैलीमा वाकीटकी लिएर घुमेपछि अर्को विवाद भएको छ ।

रास्वापाले बाग्मती प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० जनाको टोलीलाई प्रहरीकै शैलीमा वाकिटकी र निश्चित पोशाकसहित परिचालन गरेको विषयमा विवाद भएको हो ।

स्वीकृति नलिई सुरक्षाकर्मीले जसरी सञ्चारसाधन प्रयोग गरेपछि चितवनका प्रजिअ सुरेन्द्र पौडेलले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

विज्ञप्ति नै जारी गरेर प्रजिअले राज्यकै संयन्त्र सक्षम रहेको भन्दै विनाअनुमति यस्तो नगर्न गम्भीर ध्यानाकर्षण गराएका थिए । 

null

रास्वपाका उपसभापति डोरप्रसाद अर्यालले प्रहरीसँग समन्वय गरे पनि जिल्ला प्रशासनसँग लिखित अनुमति लिने काममा त्रुटि भएको बताए ।

‘बाढी र पहिरोपछिको आपतकालीन अवस्थामा हामीले जनताको पक्षमा काम गरेका हौं, कुनै दुरुपयोग गरेका हैनौं । जहाँसम्म मुग्लिनको कुरा छ प्रहरीसँग समन्वय भएकै थियो । सीडीओलाई लिखित निवेदन दिएर प्रक्रिया पूरा नगरिएको साँचो हो,’ उनले भने, ‘तर पछिल्लो समय दर्ता नगरी पनि वाकीटकी चलाउन पाइन्छ ।’

रविकी श्रीमती निकिता पौडेलको नेतृत्वमा सञ्चालन हुन लागेको नारी टेलिभिजनको शुभारम्भका लागि पुगेका बेला गत असार २० गते बार्दली चढेको विषय पनि उस्तै गरी विवादमा तानियो । २०३२ सालमा बनेको पुरानो घरको बार्दली चढेर शुभचिन्तकलाई हात हल्लाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कुनै प्रस्ट योजना र कार्यक्रमविना रविले पुरानो घरमा चढेर ‘स्टन्ट’ गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुन पुग्यो । 

सबै हाम्रो दबाबले !

रवि गृहमन्त्रालयबाट हटेपछि नारायणकाजी श्रेष्ठले यो मन्त्रालय सम्हालेका छन् । मन्त्रालय सम्हालेदेखि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा श्रेष्ठले कांग्रेस, एमाले, माओवादी नभनी आक्रामक अभियान चलाए । भ्रष्टाचार, तस्करी र अनियमितताविरुद्ध सरकार त्यसयता बालुवाटार जग्गा प्रकरण र सुनकाण्डमा निर्मम ढंगले लागिरहेको छ । तर सरकारले एउटा ढंगले गरिरहेको कामलाई पनि रविले आफ्नो दबाबले भएको भनेर अभिव्यक्ति दिइरहेका छन् ।

१५ साउनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा रविले आफूहरूकै दबाबमा सरकारले भ्रष्टाचारको फाइल खोलेको जिकिर गर्न भ्याए । २०८४ को चुनावमा हारिने डरले आफूहरूको दबाबमा सरकारले भ्रष्टाचारका फाइल खोलेको टिप्पणी उनको थियो । 

‘भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाउँदै रास्वपा घण्टी बजाउँदै अगाडि आएको छ । सम्भवतः यो आगमनले कहीँ न कहीँ सरकारलाई पनि पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,’ रविले भनेका थिए, ‘अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने दलहरूलाई लागेको छ । यसैको संकेत अहिले देखिएका छन् ।’

null

वैशाख २७ गते नक्कली भुटान शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेको दिन रविले एक घण्टाको बीचमा दुईवटा विरोधाभाषपूर्ण स्टाटस लेखेका थिए । एउटा तोप पड्काउन प्रधानमन्त्रीलाई किन सकस परिरहेको भन्दै स्टाटस लेखेका थिए । रविको यस्तो स्टाटस आउँदा प्रहरीले खाँणलाई पक्राउ गरिसकेको थियो । लगत्तै रविले यस्तो सिलसिला नरोकिओस् भनेर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेका थिए । 

रास्वपाका उपसभापति डोलप्रसाद अर्याल काम नगर्ने, दल, संस्था र व्यक्तिले मात्रै आफूहरूको कामलाई ‘ब्याकफायर’ देखेको बताउँछन् ।

‘हाम्रो पार्टीको जन्म र अस्तित्व नै नागरिकलाई केही परिवर्तनको अनुभूति गराउनका लागि हो । देश बनाउने र नागरिकका अपेक्षालाई पूरा गर्ने हुटहुटीले हामी निरन्तर केही न केही गर्ने योजना र काममा लागेका छौं,’ अर्यालले लोकान्तरसँग भने, ‘काम गराईका क्रममा केही कमजोरी त्रुटि भए सच्याउँदै अघि बढ्छौं, तर पछाडि हट्दैनौं, किनकि काम नगरी बस्नेलाई हाम्रो सक्रियता र अग्रसरताले पीडा र छटपटी भएको छ । जनतालाई परिवर्तनको आभाष दिलाउने गरी निरन्तर लाग्छौं ।’ 

काम गर्ने क्रममा प्रक्रियागत त्रुटि र कमजोरी भए सच्याउन आफूहरू निरन्तर लाग्ने उनले प्रस्ट्याए ।  

र, अन्य विरोधाभाष

नयाँ दलका रूपमा उदाउँदा रास्वपा सरकारमा नगई बाहिर बसेरै सत्तालाई खबरदारी गर्छ भन्ने धेरैको अपेक्षा थियो । तर, १० पुसमा बनेको सरकारमा रविले गृहमन्त्रालयमा अस्वाभाविक आशक्ति देखाए । तर नागरिकता लिँदाको प्रक्रिया नै नपुर्‍याउँदा रविको सांसद, मन्त्री र पार्टी सभापति पद सर्वोच्चले खारेज गरिदियो । 

आफ्नो गृहमन्त्री पद गएपछि रविले नागरिकता लिएर प्रक्रिया पूरा गरे । तर अदालतको अन्तिम फैसला नआउँदै फेरि गृहमन्त्रालय पाउनकै लागि ढिपी देखाए । आफूले गृह नपाएपछि उनले सरकारमा सहभागी मन्त्रीलाई गत २२ माघ फिर्ता बोलाएको आरोप खेपे । मन्त्री फिर्ता बोलाए पनि उनले सरकारलाई दिएको समर्थन लामो समय कायम राखे । सत्ताबाट फिर्ता भए पनि उनले राष्ट्रपति चुनावमा सत्ता पक्षका उम्मेदवारलाई समर्थन गरिदिए । 

सरकारबाट फिर्ता भएपछि सत्तासँग बार्गेनिङ गर्नैका लागि उनले समर्थन कायम राखेको भनेर आलोचना पनि खेपे । १० वैशाखमा भएको उपनिर्वाचनबाट पुनः सांसद भएपछि पनि रविले सरकारमा गृहसहितको मन्त्रालयका लागि निरन्तर बार्गेनिङ गरिरहे । तर आफूले भनेजस्तो मन्त्रालय नपाउने भएपछि उनले समर्थन फिर्ता लिए । 

salt training

कमेन्ट गर्नुहोस्