
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा जारी गतिरोधप्रति निरन्तर चासो व्यक्त गर्न थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीवार भेट गरेपछि पौडेलले शुक्रवार सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा संसद्को गतिरोधमा चासो दिँदै भेट गरेका हुन् ।
राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैरश्यता बढ्ने र कानून निर्माणमा समेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद् खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका छन् ।
भेटमा राष्ट्रपति पौडेलले सदनको अवरोध खुलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षबाट भएको प्रयासबारे पनि चासो राखेका थिए । सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाको सचिवालयले जनाएको छ ।