२५ जेठ २०८३, सोमबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : सुनिल शर्माको बचाउमा केपी ओली, मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड

साउन २८, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : सुनिल शर्माको बचाउमा केपी ओली, मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमाणपत्र किर्ते आरोपमा पक्राउ परेर छुटेका सांसद सुनिल शर्माको बचाउमा उत्रिएका छन् । ओलीले सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति शुरू गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले कांग्रेस सांसद शर्माको गिरफ्तारी प्रकरणलाई लिएर सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति शुरू गरेको टिप्पणी गरेका हुन् । उनले सांसद शर्माको पटक पटक बचाउसमेत गरे । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुरू गरेको प्रतिशोधको राजनीतिको अन्त्य यहीँ नहुने बताए । ‘मैले अस्ति प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति शुरू गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु,’ उनले भने, ‘सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नाङ्गो नाच के हुन सक्छ ?’

अध्यक्ष ओलीले शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक सरकारले शुरू गरेको बताए । उनले यो शुरुआत मात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दाबी गरे ।

यसअघि शुक्रबार प्रहरी हिरासतबाट रिहा हुने क्रममा शर्माले पनि एमालेले आफ्नो पक्राउको विरोध गरेको भन्दै धन्यवाद दिएका थिए । उनले कांग्रेस माओवादी गठबन्धन टुट्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए । 
००००
सरकारबाट बाहिरिएको ४ महिनापछि सिके राउतको जनमत पार्टी फेरि सरकारमा सहभागी हुने भएको छ । सम्भवतः आइतवार नै जनमतकी अनितादेवी साह मन्त्री बन्दैछिन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीबाट अमनलाल मोदीलाई फिर्ता गराएर जनमतकी साहलाई संघीय मामिला मन्त्री बनाउन लागेका हुन् ।

यस अघि १७ चैतमा मन्त्रिपरिषद् विस्तार भएकै दिन जनमतका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका थिए । मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग मन्त्रालय रोजे पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । तर मन्त्रालयमात्रै भन्दा पनि प्रतिस्पर्धी दल जसपा पनि सरकारमा सहभागी भएपछि जनमत त्यतिखेर सरकारबाट बाहिरिएको थियो ।
राष्ट्रपतिको निर्वाचनमा समीकरण फेरिएपछि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएका थिए । त्यसपछि प्रधानमन्त्रीले कांग्रेस, जसपा, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएका थिए । तर त्यतिखेर बाहिरिएको जनमत चार महिनापछि फेरि सरकारमा सहभागी हुन लागेको हो ।

जनमतका अध्यक्ष सिके राउतले पहिलेदेखि नै समर्थन गरेकोले फेरि पनि सरकारमा सहभागी हुन लागेको जानकारी दिए । यस्तै माओवादीबाट पर्यटनमन्त्री सुदन किरातीसमेत फिर्ता हुने चर्चा छ । 
००००
सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली गैलिन र लिओ लिउ फुयान रिहा भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रवक्ता कुबेर कडायतले लोकान्तरलाई जानकारी दिए । 

अनुसन्धानका क्रममा उनीहरूलाई थुनामा राख्नुपर्ने कारण नदेखिएकाले छोडिएको उनले बताए ।
००००
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा आफूले सहयोग गर्ने बताएका छन् । 

शनिवार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।
००००
सत्तारूढ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा प्रतिशोधको भावना शुरू भए यसले सबैलाई समाप्त पार्ने बताएका छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले प्रतिशोधको भावना लिएर अघि बढ्दा कतै पनि नपुगिने बताए ।
००००
काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ ।  

यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, कामको खाका तयार पार्नेजस्ता काम सम्पन्न गरी भदौ १ देखि नियमित अनुगमन गर्ने तयारी कामपाले गरेको छ ।  कामपाका उपप्रमुख सुनिता डङ्गोलले भदौदेखि नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्ने गरी काम भइरहेको बताइन् । 
००००
कामाडौँको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको प्रहरीले उद्धार गरेको छ । 

दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलङ्की बस्ने ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँ बस्ने रिदम अधिकारी रहेका छन् ।
००००
जिल्ला कारागार सङ्खुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्न मानेका छैनन् । 
प्रहरीको कुटपिटपछि बुधबार बिहान सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोेद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकास बलामीको मृत्यु भएको थियो ।  पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि आज चार दिनपछि दुई कैदीको शवपरीक्षण भने गरिएको छ ।  
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए ।
००००
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि नभएको बताएका छन् ।

भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौं प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागु भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट तय हुन नसकेकामा दुःख व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्