इन्टर मायामी र फिलाडेल्फिया युनियनबीच लिग्स कप सेमीफाइनलको टिकट बिक्रीमा राखेको केही मिनेटमै 'सोल्ड आउट' भएको छ ।
फिलाडेल्फियाले आफ्नो घरेलु मैदान सुबरु पार्कमा पहिलोपटक लियोनल मेसीसहितको इन्टर मायामीलाई स्वागत गर्न लाग्दा टिकट खोसाखोस भएको हो ।
फिलाडेल्फिया युनियनले टिकट बिक्री भइसकेको जानकारी शनिवार साँझ नै दिएको थियो ।
पछिल्लो समय लयमा रहेका मायामी र फिलाडेल्फियाबीचको सेमीफाइनल भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।
फिलाडेल्फिया मेजर सकर लीग (एमएसल)को इस्टर्न कन्फ्रेन्समा तेस्रो स्थानमा छ भने मायमी अन्तिममा रहेको छ ।
मेसीले मायामीका लागि खेलेका सबै ५ खेल लिग्स कपअन्तर्गतका हुन् । एमएसएलमा भने उनले डेब्यु गर्नै बाँकी छ ।
मेसीले खेलेका ५ वटै खेलमा मायामी विजयी भएको छ भने फिला डेल्फियाले पनि ७ खेलयता हार व्यहोरेको छैन ।