०७ असार २०८३, आइतबार

खोला थुनिएर आएको बाढी कागबेनीमा पस्यो

साउन २९, २०८०
मुस्ताङ
खोला थुनिएर आएको बाढी कागबेनीमा पस्यो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझ आएको बाढीले  घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए । 

“राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ”, उनले भने, “तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ । स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन ।”

मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् । 

खम्बा बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ । 

कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पूजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिए । करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उनले बताए । बाढी आएपछि छात्राबासका शिक्षक विद्यार्थी सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्