
बागलुङको ढोरपाटन क्षेत्रलाई चिनाउन बुर्तिबाङ शहर विस्तारका संस्थापक मानिने अर्जुन मल्लको आइतवार अन्त्यष्टि गरिएको छ । मल्लको हृदयघातका कारण ८३ वर्षको उमेरमा शुक्रवार बिहान विनायक अस्पताल गोंगबुमा निधन भएको थियो ।
दुई छोराहरू राजेन्द्र र रवि अमेरिकाबाट आइपुगेपछि मल्लको आइतवार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । मल्लका श्रीमती भगवती, राजेन्द्र र रविसहित कान्छो छोरा विपिन, छोरीहरू पुनम र निलम छन् ।
ढोरपाटन, बोबाङ, अधिकारीचौर, खुंखानी, तमान, खुंगा–लुकुरबन, रणसिंकिटिनी, भिमगिठे, देविस्थान, निसीसँगै हालको पूर्वी रुकुमको तकसेरा, हुकाममैकोटसम्को केन्द्र बुर्तिबाङमा पहिलो बस्ती मल्लले बसालेका थिए ।
बुवा शेरबहादुर र आमा नन्द कुमारी मल्लको कोखबाट तात्कालीन बुर्तिबाङ गाउँ पञ्चायत–१ (हाल ढोरपाटन–१) बुर्तिबाङमा १९९७ चैत २६ गते अर्जुनको जन्म भएको थियो । २०१३ सालमा जनकल्याण प्रावि स्थापना गरी शिक्षाको ज्योति फैल्याएका मल्लले पछि विद्यालय स्थापनाका लागि निजी जग्गा प्रदान गरेका थिए ।
विकासका लागि शिक्षा अनिवार्य भएको हुनुपर्ने भन्ने सोच उनमा थियो । बुर्तिबाङ क्षेत्रमा शिक्षासँगै स्वास्थ्य, सरकारी कार्यालयको आवश्यकता दीर्घकालीन सोंच भएका मल्लले बसालेको बजार अहिले ढोरपाटन नगरपालिकाको केन्द्र बनेको छ ।
बुर्तिबाङ बजार बसपार्क रहेको स्थानमा जनकल्याणबाट पछि उत्तर गंगा मावि हुँदै हाल उच्च रहेको विद्यालय त्यहीँबाट हालको झिङ्गलबारीमा सारिएको थियो । बागलुङ जिल्लाको सदरमुकाम त्यस क्षेत्रका जनताका लागि पायक नपर्ने, टाढा भएकाले जिल्ला टुक्राएर बुर्तिबाङलाई केन्द्र बनाउनुपर्छ भन्ने उनको पहिलो माग थियो ।
त्यही सोंचका कारण उनले सरकारी कार्यालयहरू स्थापनाका लागि आफ्नो निजी जग्गा दिएका थिए । मध्य पहाडी लोकमार्गको दोस्रो नमूना शहरका रूपमा बुर्तिबाङ छनौटमा पर्नु मल्लकै दुरगामी सोचको परिणाम थियो ।
विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट प्रभावित मल्ल सम्बत् २०१५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएका थिए । प्रधानपञ्च रहेकै बेला मल्ल २०३६ सालको जनमत हुँदा बहुदलको पक्षमा लागेका थिए । प्रधानपञ्च रहँदा–रहँदै बहुदलको पक्षमा लागेको कारण उनलाई बर्खास्त गरिएको थियो।
बहुदलको पक्षमा रहेका मल्ल २०४९ सालमा बसाई सरेर बुटवल झरे । बुटवलमा आएर उनलाई राजनीति गर्ने हुटहुटीले छोडेन । २०४९ कै नगर चुनावमा बुटवल–१० बाट नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष निर्वाचित भए । बुटवलबाट पुनः बसाइसराईं गरेरका मल्ल २०५६ देखि काठमाडौं–१६ मा बसोबास गर्दै आएका थिए ।
राजनीतिसँगै समाज सेवालाई पहिलो प्राथमिकता दिने मल्लले हालको बसपार्क बनाउने सहमति गरे । हालको उत्तर गंगा उच्च माविको भवनको जग्गा सट्टापट्टा, निसी–भूजी जनता क्याम्पसको संस्थापक बनेर त्यस क्षेत्रको शिक्षा विकासका लागि मल्लले ठूलो योगदान पुर्याएका थिए ।
क्याम्पसलाई भौतिक रुपमा बलियो बनाउन मल्ले माता–पिताको नाममा भवन निर्माणका लागि १४ लाख रुपैयाँ क्याम्पसलाई प्रदान गरे ।
जेहन्दार विद्यार्थीका लागि एक लाख रुपैयाँको ‘अर्जुन–भगती मल्ल छात्रवृत्ति’ अक्ष्य कोष स्थापना गरिको छ । ढोरपाटन, निसी–भूजी, तमान, खुंगा–लुकुरबनको इतिहास बारे जानकार मल्ल अध्ययन, लेखनमा रुची राख्थे । मल्लले आफ्नो केही अनुभव र वंशवाली समेत तयार पारेका छन् ।