२७ असार २०८३, शनिबार

आफ्नै सांसद सुनिल शर्मा पक्राउबारे एक शब्द खर्चिन पनि किन तयार भएन कांग्रेस ?

साउन २९, २०८०
काठमाडौं
आफ्नै सांसद सुनिल शर्मा पक्राउबारे एक शब्द खर्चिन पनि किन तयार भएन कांग्रेस ?

पहिलो दिन संसदीय दलको बैठकमा बोल्नेमध्ये अधिकांशबाट सद्भाव पाएका सांसद सुनिल शर्माबारे एक शब्द पनि खर्च नगरी नेपाली कांग्रेसले बैठक टुंग्याएको छ । 

आफ्ना सांसदलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्ने विषय पहिलो दिनको बैठकमै उठे पनि दोस्रो र तेस्रो दिनको छलफल टुंगिँदा कांग्रेसले कुनै संस्थागत टिप्पणी गर्न चाहेन ।

‘पहिलो दिन उहाँमाथि अन्याय भयो भनेर अधिकांश साथीहरूले बोल्नुभएको थियो । तर, उहाँ हौसिएर एमाले अध्यक्ष केपी ओलीकोमा पुगेर अब तपाईं नै राष्ट्रपिता हो, तपाईं नै प्रधानमन्त्री हो भनेर आफैंले माहोल बिगार्नुभयो,’ कांग्रेसका एक सांसद भन्छन्, ‘यतिमात्रै होइन, आफ्नै पार्टीका जिम्मेवार अर्थमन्त्री र सरकारका गृहमन्त्रीबारे पनि आपत्तिजनक भाषामा लाञ्छना लगाएपछि पार्टीले उहाँका निम्ति एक शब्द पनि खर्चिन आवश्यक नठानेको हो ।’

सर्टिफिकेट सक्कली भएको भए सगौरव संसद् वा पार्टी संसदीय दलको बैठकमा पेश गर्नुपर्नेमा शर्मा उल्टै लाञ्छना लगाउनमा उद्यत भएको ती सांसद बताउँछन् । 

‘आफ्नो शैक्षिक प्रमाणपत्रमा कुरा उठेपछि सक्कली हो भने यो हो भनेर सगौरव किन देखाउनुभएन ?,’ ती सांसद भन्छन्, ‘शैक्षिक प्रमाणपत्रकै आधारमा यत्ति ठूलो आरोप लाग्ने र पक्राउ पर्ने हुँदा आफ्नो वास्तविकता देखाउन केको लाज हो ?’

पछिल्लो केही दिनयता बेलगाम अभिव्यक्ति दिँदै हिँडेकाले कांग्रेसले ८ वटा महत्त्वपूर्ण निर्णय गर्दा समेत शर्माको प्रसंग कहीँ कतै उल्लेख नगरेको उनले बताए ।

कतिसम्म भने सभापति देउवापत्नी एवं सांसद आरजु राणाले समेत शर्मामाथि प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै आपत्ति जनाएकी थिइन् । 

तर, आरजूकै आपत्तिलाई समेत देउवाले नजरअन्दाज गरिदिएका छन् । 

बरु सीआईबीबाटै सुनकाण्डको निष्पक्ष छानबिन गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । 

‘लोकतान्त्रिक व्यवस्थामा सुशासनको प्रत्याभूति आधारभूत शर्त हो । नेपाली कांग्रेस कुनै पनि घटनाको कानूनबमोजिम स्वतन्त्र, निष्पक्ष, पूर्वाग्रहरहित छानबिन, अनुसन्धान हुनुपर्दछ भन्ने पक्षमा छ । कुनै पनि दोषी नउम्किऊन र कोही निर्दोष नफसुन् भन्ने हाम्रो पार्टीको नीति रही आएको छ । यो धारणा हामी निरन्तर राख्दै आएका छांै,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

बरु सभापति शेरबहादुर देउवाले उल्टै तपाईं कहिलेदेखि पार्टीमा बस्नुभएको ? पार्टीको नियम र अनुशासन के हो थाहा छैन ? जे पायो त्यही बोल्दै हिँड्ने ? भन्दै शर्मालाई सजग गराएका छन् । 

एकपछि अर्को गर्दै आरोपित भइरहेका बेला शर्माले सोमबारको संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी शैली देखाएको भन्दै अर्को विवादित बयान दिएका छन् ।

यसले पनि उनलाई थप आलोचित बनाएको छ । 

‘शुरूमा उहाँलाई अन्याय भयो भन्ने नेता/कार्यकर्ता अहिले विरोधमा उत्रिनुपर्‍यो,’ कांग्रेसका एक सांसद भन्छन्, ‘शुरूमा हामी नै उहाँको पक्षमा लाग्यौं, तर अहिले उहाँले बोलेको विषयले नेतामात्रै होइन देशभरका कार्यकर्ताका रिसाएका छन् ।’

कमेन्ट गर्नुहोस्