
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताएका छन् ।
खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा २०८०’को फाइनल अडिसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताए ।
किरातीहरूको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गरे । ‘किरात मुन्दुम आफैंमा संगीतबद्ध हुन्छ । खोटाङ किरातीको उद्गम थलो भएकाले पनि गीत/संगीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो,’ पुख्र्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भने, ‘खोटाङ्गे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन् । उनीहरूलाई बाटो देखाउनु अग्रजहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’
खोटाङ्गे अग्रज कलाकारले चुमेको शिखरलाई नवप्रतिभाहरूले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभालाई आग्रह गरे । कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उनले जानकारी दिए ।
खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके) ले संयुक्त रूपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमल काठमाडौंमा सञ्चालन भइरहेको छ ।