०७ असार २०८३, आइतबार

निर्वाचन आयोगविरुद्ध खनिए बामदेव

कात्तिक २०, २०७४
निर्वाचन आयोगविरुद्ध खनिए बामदेव

काठमाडौं, ३१ भदौ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षले निर्वाचन आचारसंहिता उल्लंघन गरेपनि निर्वाचन आयोग मुकदर्शक बनेर बसेको आरोप लगाउनुभएको छ ।bamdev

एमाले प्रदेश सम्पर्क संगठन कमिटीले यहाँ आज आयोजना गरेको प्रदेश नं ५ को सम्पर्क भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीले आचारसंहिता उल्लंघन गरेपनि आयोग मुकदर्शक बनेको आरोप लगाउनुभएको हो ।

उहाँले निर्वाचन आचारसंहिता एमालेका नेतालाई मात्र लाग्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्री र सत्तापक्ष दलका नेताले उल्लंघन गरेपनि आयोगले केही नगरेको बताउनुभयो ।

निर्वाचनका बेला सरकार गठन हुँदा पनि आयोग चुप लागेर बसेको भन्दै उहाँले भन्नुभयो, “जसरी हाम्रा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्पष्टीकरण सोधिएको थियो । त्यसैगरी प्रधानमन्त्री र मन्त्रीलाई सोध्नु पर्दछ ।” उपाध्यक्ष गौतमले आयोगले संवैधानिक अंगका रुपमा रहेपनि भूमिका निभाउन नसकेको धारणा राख्नुभयो ।

उहाँले नेपाली काँग्रेसमा राष्ट्रियताको सवालमा हेर्ने दृष्टिकोण कमजोर भएकाले देशको राष्ट्रिय अखण्डताको रक्षा गर्ने एमालेबाहेक अरु पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले एमालेको बलबुताले संविधान जारी गरिएको उल्लेख गर्दै प्रदेश र केन्द्रको निर्वाचनपछि पूर्णरुपमा कार्यान्वयनमा आउने दाबी गर्नुभयो ।

उहाँले एमालेलाई प्रदेश नं २ मा छिर्न दिँइदैन भन्नेलाई मंगलबार हुने निर्वाचनमा फेरि पनि ठूलो पार्टी बनेर देखाउने धारणा राख्नुभयो । उहाँले काँग्रेसको टेको लगाएर नेकपा ९माओवादी केन्द्र० हिँड्ने गरेको भन्दै माओवादी पछिल्लो समय ओरालो लागेको बताउनुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले शक्तिशाली बन्दै गएको देखेर काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले मोर्चा गरेको बताउनुभयो । उहाँले मंसिरको चुनावपछि एमाले बहुमतसहित सत्तामा बस्ने दाबी गर्दै भन्नुभयो, “अहिले केन्द्रमा हामी प्रतिपक्ष भएपनि स्थानीय तहमा सत्तापक्ष नै हौँ ।”

उहाँले अब हुने निर्वाचनमा बहुमत ल्याएर पाँच वर्षको सरकार चलाएर देशलाई समृद्धि र समाजवादको दिशातिर लैजाने बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्