
स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।
अष्ट्रेलियामा भर्खरै सम्पन्न फाइनलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले विश्वकपको पहिलो उपाधि जितेको हो ।
सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा भएको फाइनल खेलमा ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गोल गरेको गोल नै निर्णायक बनेको हो ।
स्पेन र इंग्ल्यान्ड दुवै टोली पहिलोपटक फाइनलमा प्रवेश गरेका थिए । यससँगै महिला विश्वकपले नयाँ विजेता पाएको छ ।
सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अष्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
शनिबार भएको खेलमा आयोजक अष्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको थियो ।
महिला विश्वकपको सर्वाधिक विजेता अमेरिका हो । उसले चार पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले दुई तथा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् । स्पेन नयाँ विजेता बन्न सफल रह्यो ।