
कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार बिरामी बिदामा बसेकी छन् । इस्राइल मन्सुरीलाई सभा चलाउने जिम्मेवारी दिएर उनी बिदामा बसेको स्रोतले जनाएको छ । एमालेका एक सांसदले पार्टीको सहमतिअनुसार उनी बिदामा बसेको जानकारी दिए । मन्सुरी कांग्रेसबाट निर्वाचित सांसद हुन् ।
संसद् सचिवालयले भने यसबारे आधिकारिक जानकारी दिएको छैन । अहिलेसम्म उनी बिदा बसेकोबारे पत्र नआएको सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन्। उनी बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्ने/नबस्नेबारे अन्यौल सिर्जना भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले बैठक बस्ने/नबस्ने तय गर्ने संसद् सचिवालयका एक कर्मचारीले बताए ।
यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको छ । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेका हुन् ।
सभा सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन कठिन हुनेछ ।
सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।
हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ जना सांसद छन् ।