
एक साता बित्नलाग्दा पनि महिला विश्वकप फुटबलको फाइनलमा भएको चुम्बन विवाद सेलाएको छैन । चुम्बन प्रकरणलाई लिएर विश्वभरबाट विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
यसैबीच, विश्व फुटबलको सर्वोच्च संस्था फिफाले चुम्बन प्रकरणमा मुझिएका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसलाई निलम्बन गरेको छ । निलम्बनअनुसार आजदेखि रुबिलेसले आगामी ९० दिनसम्म कुनै पनि फुटबल गतिविधि गर्न पाउने छैनन् ।
हालैमात्र विश्वकप विजेता स्पेनको महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीले आफ्नो फुटबल संघका अध्यक्ष रुबिलेसले राजीनामा नदिएसम्म देशका लागि कुनै खेल नखेल्ने घोषणा गरेका थिए । त्यसपछि फिफाबाट पनि यस्तो निर्णय भएको हो ।
सिनियर खेलाडीहरू एलेक्सिया पुतेल्लास, एइताना बोनमतीलगायतले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका थिए ।
स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले विश्वकप विजेता आफ्नै देशकी खेलाडी जेनी हेरमेसोलाई गरेको अस्वाभाविक चुम्बनको विरोध गर्दै उनीहरूले यस्तो घोषणा गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
अष्ट्रेलियामा आइतवार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फूटबलको उपाधि जितेको थियो । सो क्रममा स्पेनिस खेलडी र पदाधिकारीले खुलेरै खुसी मनाएका थिए ।
ट्रफी तथा मेडल वितरण कार्यक्रममा दौरान स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले आफ्नो देशका महिला खेलाडीलाई अंगालो हालेर चुम्बन गरेका थिए । यस क्रममा जेनीलाई गरेको चुम्बनले भने विवाद सिर्जना गरेको हो । हुन पनि अध्यक्ष रुबिलेसले जेनीको मुखमै चुम्बन गरेका थिए । यसलाई लिएर विश्वभरका सञ्चारमाध्यमहरूले विभिन्न समाचार बनाएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले मुखमा चुम्बन गर्नु खराब नियत भएको बताएका थिए ।

यसपछि स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले यो घटनालाई लिएर माफी मागेका थिए ।
रुबिलेसले खराब नियतले नगरिएको भए पनि त्यो माफ्नो गल्ती भएको बताएका थिए । तर, उनले दबाबका बीच पनि राजीनामा दिएका छैनन् ।
अर्कोतिर खेलाडी जेनीले भने अध्यक्ष रुबिलेसले आफूलाई चुम्बन गर्दा अफ्ठ्यारो महसुस गरेको प्रतिक्रिया दिएकी थिइन् ।
यसैबीच, स्पेनिस पुरुष खेलाडी बोर्जा इग्लेसियासले पनि शुक्रबार फुटबल संघमा रुबिलेस हुँदासम्म राष्ट्रिय टोलीमा नखेल्ने घोषणा गरेका थिए । रियल बेटिसबाट खेल्ने उनले स्पेनका लागि हालसम्म २ खेल खेलेका छन् ।