
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरू ‘म्युजिकल चेयर’का खेलाडी जत्तिको पनि नभएको टिप्पणी गरेका छन् ।
आइतवार विराटनगरमा नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यिनीहरू म्युजिकल चेयरका खेलाडीभन्दा माथिका होइनन्,’ अध्यक्ष ओलीले भने, ‘यिनीहरूले काम गर्दैनन् । म्युजिकल चेयरमा जस्तो कुदेर झ्याप्प बस्ने, बसेपछि विजेता घोषित गरी हाल्ने र विजेता भएँ भनेर हात उठाउने काम मात्र यिनीहरूले गर्छन् ।’
उनले थपे, ‘जो बलियो छ, त्यो गएर बस्ने भन्ने त म्युजिकल चेयरमा पनि हुँदैन । यिनीहरू म्युजिकल चेयरका खेलाडीजत्तिको पनि भएनन् ।’
उनले कोशी प्रदेशमा मुख्यमन्त्रीले लिएको विश्वास मतको प्रसंग निकाल्दै समय गुज्रिएपछि दिँदै नदिएको मत सच्याउने भनेर सभाध्यक्षलाई मतदान गराई तमासा देखाएको आरोप लगाए ।
गठबन्धनको ध्यान सत्ता कब्जा गर्ने र एमालेलाई कमजोर बनाउनेतिर मात्रै रहेको उनको टिप्पणी छ ।
‘संविधानविपरीत होस् कि कानूनविपरीत होस्, जसरी पनि सत्ता कब्जा गर्ने र एमालेलाई कमजोर पार्ने रणनीतिमा अहिलेको गठबन्धन छ,’ ओलीले भने ।
संविधानविरुद्ध र लोकतन्त्रविरुद्ध बलमिच्याइँ गरेर सरकार बनाउने अभ्यास कोशी प्रदेशबाट शुरू भएको अध्यक्ष ओलीले बताए ।
‘संविधानले सभामुख निष्पक्ष र तटस्थ हुन्छ भनेको भए पनि गठबन्धनले दलको सदस्यको हैसियतमा राखेर हस्ताक्षर गराउँछ,’ अध्यक्ष ओलीले भने, ‘अदालतले सरकार गठन नै अवैधानिक भयो भन्दा कति सारो घृणित खेल खेले भन्ने उदाहरण कोशी प्रदेशबाट शुरू गरेका छन् । ’
अध्यक्ष ओलीले अहिलेको सरकारले जातीय द्वन्द्व मच्चाउन खोजेको पनि आरोप लगाए । कोशी प्रदेश नामकरणको विषय निकाल्दै ओलीले अहिलेकै सत्तारुढ दलका कार्यकर्ताहरू ढुंगामुढा गर्दै बाहिर निस्केको बताए ।
उनले कोशी नामका पक्षमा मतदान गर्ने सबैलाई धन्यवाद दिए ।
‘म ४ जना (नेकपा एसका)बाहेक सबै सांसदलाई धन्यवाद भन्छु,’ ओलीले भने, ‘तर, माओवादीले दोहोरा चरित्र देखायो । त्यसबाट गल्ती गरिएछ कि भन्ने भएको छ भने हामी साथ दिन तयार छौं ।’
सभामुखलाई राजीनामा गराएर मन्त्री बनाउने जस्तो जात्रा दुनियाँमा कहीँ नभएको समेत उनले बताए ।
पहिला आफूहरू संविधानअनुसार चल्दा संविधान मिच्यो भनेर ‘स्याल हुइँया’ गर्नेहरू अहिले चुइँक्क पनि नबोलेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरे ।