
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रुपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।
माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन् ।
उनले भने, “देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको शुरूवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौं । त्यसका लागि माओवादी पार्टीको रुपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रुपान्तरणको शुरूवात गर्नेछ ।” उनले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे ।
“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन”, अध्यक्ष प्रचण्डले भने, “भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौं ।” मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औंल्याउँदै उनले विकासको मोडल फेर्नुपर्ने बताए ।