
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ को नक्टाझिजस्थित नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर सोमवार राति चोरी भएको छ । हजारा चोकस्थित जनता माध्यमिक विद्यालयको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको हो ।
११ हजार भोल्ट विद्युत प्रवाह भएको अवस्थामा चोरले लाइन शर्ट गराएर ट्रान्सफर्मर खोली त्यसमा भएको कपरको क्वाइल चोरेर लगेको नेपाल विद्युत प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
११ हजार भोल्टको विद्युत प्रवाह भएको हाइ टेन्सन तारमा अन्य तार फ्याकेर सर्ट गराई विद्युत लाइन अवरुद्ध भएको अवस्थामा चोरले २५ केभीएको ट्रान्सफर्मर खोलेको ठाकुरले बताए ।
‘चोरले ट्रान्सफर्मरमा रहेको कपरको क्वाइल मात्र झिकेर लगेका छन्,’ ठाकुरले लोकान्तरसँग भने,’ ‘ट्रान्सफर्मरको बाँकी सबै चिज त्यही तल फालेर भागेको पाइयो ।’
खास गरेर लागुऔषध दुर्व्यसनीहरूले खुल्ला स्थान तथा चौरमा जडान भएको ११ हजार भोल्टको लाइभ लाइनलाई समेत शर्ट गराएर एमसीबी झरेको अवस्थामा ट्रान्सफर्मर चोरी गर्ने गरेको उनले खुलाए ।
आफ्नो ज्यानको नै पर्वाह नगरी ज्यान नै जोखिममा राखेर त्यसरी चोरी गर्नेहरू भारतको विशेषज्ञ नै हुनुपर्ने उनको अनुमान छ ।
१ लाखदेखि १५ लाख रुपैयाँसम्म मूल्य पर्ने ट्रान्सफर्मर प्राधिकरणले जडान गरिएको हुन्छ । चोरहरूले ट्रान्सफर्मरबाट तामाको क्वाइल निकालेर कवाडमा बेच्ने गरेको उनले खुलाए । ‘ट्रान्सफर्मर चोरी हुँदा प्रहरीमा ट्रान्सफर्मर खोजिदिन भन्दै वितरण केन्द्रले उजुरी गर्ने गरेको भए पनि हालसम्म प्रहरीले कुनै पनि ट्रान्सफर्मर फेला पार्न सकेको छैन,’ उनले लोकान्तरसँग भने, ‘मधेश प्रदेशमा सबैभन्दा बढी बारा जिल्लामा ट्रान्सफर्मर चोरी हुने गरेको छ ।’
बाराको विद्युत प्राधिकरण वितरण केन्द्र, कलैयाका प्रमुख ऋषि वर्णवालका अनुसार १ वर्षभित्रै तीन थान ट्रान्सफर्मर चोरी भएको छ ।
उनका अनुसार २०७९ कार्तिक १९ गते बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणवा टोलबाट १ सय केभीएको ट्रान्सफर्मर चोरी भएको थियो । सोही दिन सोही नगरपालिकाको वडा नम्बर ९ स्थित बलुवा थलही पुल नजिकको ५० केभीए ट्रान्सफर्मर पनि चोरी भएको थियो ।
त्यसै गरी २०८० साउन ३२ गते कलैया उपमहानगरपालिका वडा नम्बर १२ स्थित थरुवा, शितलपुरमा पनि १ सय केभीएको ट्रान्सफर्मर चोरले चोरी गरेको थियो ।
‘उनीहरूले विद्युत लाइन शर्ट गराएर ट्रान्सफर्मर तल झारेर क्वाइल चोरी गर्ने गरेको पाइएको छ,’ वर्णवालले लोकान्तरसँग भने,’ ‘ट्रान्सफर्मरबाट कपरको क्वाइल मात्र चोरी हुने गरेको छ । तर क्वाइल मात्र झिक्दा बाँकी ट्रान्सफर्मर पनि काम नलाग्ने गरी क्षतिग्रस्त गरिदिने गरेका छन् ।’
चोरी भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जाहेरी पनि दिएको उनले बताए । ‘अहिले केही चोरहरू क्वाइलसहित पक्राउ परेको तथा अनुसन्धान जारी नै रहेको भनेर जिल्ला प्रहरी कार्यालय बाराले हामीलाई खबर गरेको छ,’ वर्णवालले लोकान्तरसँग भने ।
हरेक ट्रान्सफर्मरको कम्पनीअनुसार फरक–फरक मूल्य पर्ने गर्छ । प्राधिकरणले भने टेन्डरमार्फत थोक मात्रामा ट्रान्सफर्मर किन्ने गरेको उनले बताए ।
१ सय केभीएको ट्रान्सफर्मरको बजार मूल्य साढे ८ लाख पर्ने भए पनि प्राधिकरणले साढे ५ लाख रुपैयाँमा किन्ने गरेको उनले बताए । त्यसै गरी ५० केभीएको बजार मूल्य ५ लाख पर्ने गरेकोमा प्राधिकरणले ३ लाख रुपैयाँमा किनेको उनले खुलाए ।
त्यस बाहेक अन्य सरकारी निकायले जडान गरेको ट्रान्सफर्मर पनि चोरी भइरहेको उनले बताए ।
निजी क्षेत्रले खरिद गरेका ट्रान्सफर्मर पनि चोरी हुने गरेको पाइएको छ ।