
अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को अफगानिस्तान कार्यालयले जनाएको छ ।
डब्लूएचओ अफगानिस्तानले सोमवार सामाजिक सञ्जालमार्फत् भनेको छ, “विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले हालको आर्थिक सहायताअन्तर्गत रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण हरेक दिन २४ जना आमाको मृत्यु हुने अनुमान गरेको छ ।”
डब्लुएचओ अफगानिस्तानको सामाजिक सञ्जाल एक्स (ट्वीटर)सँग सम्बन्धित हालैको रिपोर्टमा सङ्गठनले मातृ मृत्युदरका कारण देशको स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएको छ ।
रिपोर्टमा खाद्य असुरक्षा र कुपोषणका कारण लाखौं मानिसको ज्यान खतरामा परेको र यसमा सङ्क्रामक रोग, प्रकोप र गम्भीर खडेरीले थप बढावा दिएको बताइएको छ ।
प्रतिवेदनअनुसार सन् २०२३ मा मानवीय सहायताको आवश्यकता पर्ने व्यक्तिको सङ्ख्या दुई करोड ८० लाखभन्दा बढी पुगेको छ, जुन दुई वर्षअघि एक करोड ८४ लाख थियो ।
स्वास्थ्य क्षेत्रमा हाल ७५ लाख बालबालिका र ३१ लाख महिला गरी एक करोड ४० लाख मानिस स्वास्थ्य सहायताका लागि लक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।