०९ असार २०८३, मंगलबार

बडीमालिका दर्शनमा जाँदा बिरामी परेका तीन जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार

भदौ १४, २०८०
बाजुरा
बडीमालिका दर्शनमा जाँदा बिरामी परेका तीन जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार
फाइल फोटो

बाजुराको बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडी मालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्म बाजुराले जनाएको छ । 

लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पत्ती र बडी मालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनीहरूको सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको सेनानी सिंहले बताए । 

“अक्सिजन अभावका कारण अचेत अवस्थामा फेला पारेका कैलालीको अत्तरिया बस्ने ६३ वर्षीय ईश्वरी बोहरा र उनकी धर्मपत्नी ५२ वर्षीया गङ्गा देवी बोहरालाई बिहीवार बिहान उद्धार गरिएको हो”, उनले भने । 

सेनानी सिंहका अनुसार बडीमालिकाको दर्शन गरेर घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर घाइते भएकी जुम्लाको चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ की विनुदेवी बस्नेतको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

“यसअघि अक्सिजन अभावका कारण बेहोस् भएर ढलेको अवस्थामा फेला परेका अन्य तीन जनाको गत सोमवार उद्धार गरिएकामा दुईको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना उपचारपछि घर फर्किनुभएको छ”, सेनानी सिंहले भने ।

उनका अनुसार मृत्यु हुनेमा कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्