
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीवार भेटवार्ता गरेको छ ।
मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताएका थिए ।
साथै उनले पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका कारण विभिन्न सिमान्तकृत समुदायका समस्याहरू महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्थाहरू समेट्न सकिएको सन्दर्भ उल्लेख गरेका थिए ।
लामो संघर्षपछि नेपालमा राजनीतिक रुपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको राष्ट्रपतिको भनाइ थियो ।
त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेन्डा नेपालका लागि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गरेका थिए । ‘‘गरिवीले नै मानवीय मूल्यविरुद्धका विकृतिहरू देखापर्छन्, गरिवी हटेपछि मात्र विकृतिहरू क्रमशः आफैं हट्दै जाने हो”, राष्ट्रपति पौडेलले भने, “गरिवीका कारण नेपाली जनताले धेरै समस्या भोग्नुपरेको छ, त्यो समस्याबाट जनताको जीवनस्तर माथि उठाउन हामी कोशिस गरिहेका छौं । त्यसमा अमेरिकाजस्ता मुलुकहरूको सहयोग हाम्रा लागि महत्वपूर्ण हुन्छ।”
भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालको संविधान निकै राम्रो रहेको र आफूहरू त्यसबाट प्रभावित भएको बताएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अमेरिकामासमेत नभएको महिलासम्बन्धी हकअधिकारको व्यवस्था नेपालमा भएको बताउँदै नेपालमा मानवीय मूल्य स्थापित गर्न के/के गर्न सकिन्छ भनेर छलफल गर्नु आफूहरूको भ्रमणको उद्देश्य रहेको अमेरिकी प्रतिनिधि मण्डलको भनाइ थियो ।
उनीहरूले मानव अधिकार, श्रम, आप्रवासी, बालबालिका, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्येश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड, नेपालस्थित अमेरीकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो ।