
लाखे नाचको संरक्षण र सम्वर्धनका लागि भोजपुरका युवा जुटेका छन । विशेष गरेर नेवार समुदायको मौलिक तथा सांस्कृतिक नाचको रुपमा रहेको लाखे नाच नागपञ्चमीबाट सुरु भई कृष्ण अष्टमीको भोलीपल्ट समापन हुने गर्दछ ।
नेवा समुदायको कला संस्कृतिलाई पुस्तान्तरण गर्दै दीर्घकालीन रुपमा संरक्षण गर्ने उद्देश्यका साथ भोजपुरमा युवा सक्रिय रहेको भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले बताए । उनका अनुसार आधुनिकतासँगै पुरानो कला संस्कृति लोप हुन थालेकाले युवा पुस्तामा पुस्तान्तरणका लागि प्रशिक्षणसमेत थालिएको छ ।
पुरानो कला संस्कृतिको संरक्षणमा यहाँका युवाले चासो देखाउन थालेको नेवार समुदायका अगुवाको भनाइ छ । नेवार समुदायको मौलिकता झल्किने पुराना संस्कृति लोप हुन नदिनका लागि युवामा सक्रियता बढ्दै गएको स्थानीय दीपेन्द्र श्रेष्ठले बताए ।
स्थानीय सुदिप श्रेष्ठका अनुसार जिल्लामा अहिले युवाले लाखे नाच मात्र नभएर बिगतमा लोप भएका रोपाइँ, सिपाही जात्रालगायत विभिन्न जात्रा निकाल्न थालेका छन् । लाखे नाच नेवार समुदायले विशेष जात्रा भएको बताउँदै उनले यसमा मुखुन्डो पहिरिएर परम्परागत नृत्य गरिने जानकारी दिए ।
भोजपुर नगरपालिकाका साथै पानीट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा लाखे नाच नचाउने परम्परा रहदै आएको छ ।
लाखे नाचसँगै ठाकठुके नाचको पनि संरक्षण र सम्वर्द्धन गर्दे आइएको भोजपुर नगरपालिका–५ का गणेश प्रधानले जानकारी दिए । नागपञ्चमीका दिनदेखि सुरु भएको नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन सुवालले बताए ।