०५ साउन २०८३, मंगलबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि बालेनको डोजर रोक्ने आदेशसम्म

भदौ १५, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि बालेनको डोजर रोक्ने आदेशसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।  

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
बिहीबार नै गाईजात्रा पनि मनाइएको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सरकारको आलोचना भएको छ  । निगमले बिहीबार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।  

गएरातिदेखि लागू भएको उक्त मूल्यअनुसार अब काठमाडौँमा एक लिटर पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । १६६० रुपैयाँमा उपलब्ध हुँदै आएको ग्यासको मूल्य पनि १८९५ रुपैयाँ पुगेको छ । 
इण्डियन आयल कर्पोरेशनबाट  मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । तर सामाजिक सञ्जालमा भने सरकारले मूल्यवृद्धि गरिरहेको भन्दै आलोचना गरिएको छ ।
००००
चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो । 
गत मंलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
००००
हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा थप सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई  भारत पठाएको छ । 

बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले शुक्रबार  भारतमा पनि टोली पठाएको हो ।
००००
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमन नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि भएको छ ।
उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका(११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको छ ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाललाई नसोधी नेपालको भूमि भारतको भन्दै देखाएकोले चीनको ५ दिने भ्रमणसमेत स्थगित गरेको उनले जानकारी दिएका छन् ।
००००
जनता समाजवादी पार्टी नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।
हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु रहेको थियो ।

 साथै पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन अन्तरिम आदेश दिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार घर भत्काउनेबारे एक जना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्काल घर नभत्काउन अन्तरिम आदेश दिएको हो ।
यससँगै राप्रपा कार्यालय भत्काउन महानगरपालिकाका मेयर बालेनको डोजर रोकिने भएको छ । केही पहिले नै बालेनको डोजर त्यहाँ पुगेपनि राप्रपाको अवरोधले कार्यालय भत्किन पाएको थिएन । त्यसपछि २१ दिनको समय पाएको राप्रपा अन्ततः अदालत गएको हो । 
००००
समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ । पोखरामा भदौ १५ गते शुक्रबार हुने प्रदेशस्तरीय सन्देश सभाको अघिल्लो दिन मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको मोर्चाले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री खड्काको छाउनीमा प्रोष्टेटको शल्यक्रिया गरिएको छ ।
००००
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताएका छन् । उनले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताए । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा शुक्रबार आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताए । 
००००
एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजय सुरुवात गरेको छ । बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो । 
बंगलादेशले दिएको १६५ रनको लक्ष्य  घरेलु टोली श्रीलंकाले ५ विकेटको क्षतिमा ६६ बल बाँकी छँदै  भेट्टायो ।
 

salt training

कमेन्ट गर्नुहोस्