
६० केजी सुन तस्करी प्रकरण र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याएको ९ केजी सुन प्रकरणको सम्बन्ध देखिए पनि प्रहरीले छुट्टाछुट्टै अनुसन्धान शुरू गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो र भेपमा ल्याएको ९ किलो सुन प्रकरणको सम्बन्ध देखिएको छुट्टाछुट्टै अनुसन्धान भइरहेको जनाएको छ । सीआईबीले सुन कहाँबाट आएकोदेखि कहाँ जानेसम्मका विषयमा अनुसन्धान गरिरहेको हो ।
(सीआईबी)को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा असार २७ गते गरेको अभियोजनमा ९ केजी सुनमा चिनियाँसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको विवरण चार्टसहित उल्लेख गरिएको छ ।
सीआईबीले ९ केजी सुनमा कनेक्सन देखिएपछि राहुल महरालाई बुधवार पक्राउ गरेको प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले लोकान्तरलाई बताए ।
‘भेपमार्फत भएको सुन तस्करीमा कनेक्सन देखिएपछि पक्राउ गरेका हौं,’ डीआईजी कडायतले भने ।
सीआईबीले सुन ल्याउने समूहका चिनियाँ नागरिक ली भन्ने ली वेन सुङ्गसँग कृष्णबहादुर महराको ११ पटक सम्पर्क फोन भएको देखाएको थियो । सोही समूहका दाओजिन वाङसँग महराका छोरा राहुलको १३१ पटक सम्पर्क भएको देखाइएको छ ।
चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा सन् २०२१ र २०२२ मा बरामद भएको १४७ केजी सुन तस्करीमा पनि पक्राउ परेर छुटेका व्यक्तिहरू हुन् ।
राहुलको कनेक्सन चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ । दावा, राहुल र चिनियाँ नागरिक दाओजिङ वाङसँग कनेक्सन देखिएको सीआईबीका अधिकारीहरू बताउँछन् ।
‘उहाँको कनेक्सन ६० किलो सुन र ९ किलो सुन तस्करी प्रकरण दुवैमा देखिएपछि पक्राउ गरेका हौं,’ सीआईबीका एक अधिकारीले लोकान्तरसँग भने ।
९ किलो सुन प्रकरणमा नासु रेवन्त खड्कालाई विमानस्थलको भन्सार कार्यालयले पत्र लेखेपछि वैशाख ३० गते पक्राउ गरिएको थियो ।
उनीसँगै सुन पसले वेदप्रसाद अग्रवाल, सुन जाँच्ने साहेव राव मर्ग, सुन पसले निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत र अमृत कार्की सुरक्षा गार्डसहित ९ जना पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौंले रेवन्तसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अमृत कार्कीसहित २ अन्य जनालाई साधारण तारिखमा धरौटीमा छाडेको सीआईबीले जनाएको छ ।
प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने तयारी सीआईबीले गरेको छ । तर, को–को पक्राउ पर्दैछन् भन्ने केही खुलाएको छैन ।
नेपालमा भएको तस्करीको अनुसन्धानका क्रममा सीआईबीले भारतमा गत वर्ष बरामद ठूलो परिमाणको सुनसँगको कनेक्सन समेत खोजिरहेको छ । भारतमा सन् २०२२ मे १२ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाटै ६१.५ किलो सुन बरामद भएको थियो ।
धाराको टुटी बनाएर ल्याएको सुन ‘गोल्डेन टप’ अपरेसन चलाएर भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले बरामद गरेको थियो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त सुन हङकङबाट एयर कार्गो हुँदै भारत आएको थियो । त्योभन्दा एक वर्षअगाडि ‘मोल्टेन मेटल’ नामको अपरेसनमा बेलनाकार निकल बनाएर ल्याएको ८५.५ केजी सुन बरामद भएको थियो । त्यो पनि एयर कार्गोबाटै आएको डीआरआईले जनाएको थियो ।