
वीरगन्जको मतगणनास्थल, ठाकुरराम क्याम्पस
वीरगन्ज, ३ असोज– स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत सोमबार मतदान भएको २ नम्बर प्रदेशको एकमात्रै महानगरपालिका वीरगन्जको मतगणना मंगलवार विहान साढे ११ बजेदेखि शुरु हुने भएको छ ।
विहान ढिलोगरी बसेको सर्वदलीय बैठकमा विहान साढे ११ बजेदेखि वीरगन्जको मतगणना शुरु गर्ने सहमति भएको हो ।
यसअघि मतदान सकिएलगत्तै (सोमवार राति) नै मतगणना शुरु गर्ने भनिएपछि राजनीतिक दल, स्थानीय प्रशान, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीच आपसी समझदारी जुट्न नसक्दा वीरगन्जको मतगणनामा ढिलाई भएको हो ।
खास गरेर मतगणना स्थलको सुरक्षाका लागि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यलयबीच समेत सहकार्य हुन नसकेको दलहरुले गुनासो गरेका छन् ।
मतगणना शुरु गर्ने विषयमा मंगलवार विहान ६ बजे सर्वदलीय बैठक बोलाइएको थियो । तर दलका प्रतिनिधिहरु भने विहान ९ बजेमात्रै मतगणना स्थल ठाकुरराम क्याम्पसमा पुगेका थिए ।
मतगणनास्थलमा सुरक्षाका लागि सीसीटिभी राखिनुपर्ने, तारजालीको व्यवस्था गरिनुपर्ने लगायत माग गरिएपनि सोको व्यवस्थाका लागि निर्वाचन आयोग लगायत निकायले कुनै पहल नगरेको भन्दै दलहरुले विरोधभ जनाएका थिए ।