
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राज्यले क्रिकेट खेलाडीमाथि अत्याचार गरेको आरोप लगाएका छन् । रंगशाला निर्माण रोकेर मुख्यमन्त्री काठमाडौं आउँदा सुत्ने दरबार बनाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद ढकालले राज्यको गलत नीतिका कारण एक छाक खाएर खेलाडीले ब्याट किन्नु पर्ने अवस्था रहेको बताएका हुन् ।
खेलाडीको आफ्नै बलबुता र परिवारको सहयोगका कारण नेपाल भारतजस्तो देशसँग क्रिकेट खेल्ने अवस्थामा आएको भन्दै उनले संसद्बाटै खेलाडीलाई स्यालुट गरे ।
‘रोहित यो आक्रोश सम्झेर यति लामो छक्का हानिदिनू कि यो राज्यले गरेको अत्याचारको विद्रोही तोप त्यो मैदानमा बनिदिनू । सन्दीप यति धेरै बोल्ड गरिदिनू, युवामाथि भएको अत्याचार सम्झेर यति धेरै बोल्ड गरिदिनू, आज इन्डियालाई जितिदिनू ।’