१५ असार २०८३, सोमबार

नयाँदिल्लीमा आयोजना हुने शिखर सम्मेलनमा राष्ट्रपति सी सहभागी नहुने बेइजिङको घोषणा

भदौ १८, २०८०
काठमाडौं
नयाँदिल्लीमा आयोजना हुने शिखर सम्मेलनमा राष्ट्रपति सी सहभागी नहुने बेइजिङको घोषणा

चीनका राष्ट्रपति सी चिनफिङ विश्वका विशाल अर्थतन्त्र भएका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी २० को यही भदौ २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने १८ औँ शिखर सम्मेलनमा सहभागी नहुने बेइजिङले घोषणा गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको सट्टा प्रधानमन्त्री ली छ्याङले शिखर बैठकमा भागलिने बताएका हुन् । उनले ‘जी २० शिखर सम्मेलनमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री लीले गर्ने’ स्पष्ट गर्दै त्यसलाई प्रवक्ता माओ निङले आर्थिक सहयोगको लागि महत्वपूर्ण मञ्चको रूपमा वर्णन गरेका छन् ।

बैठकमा प्रधानमन्त्री लीले जी २०मा चीनका विचार र अडान व्यक्त गर्ने तथा त्यसलाई एकता र सहयोगका माध्यमबाट बलियो बनाउन र विश्वव्यापी आर्थिक विकासका चुनौती आपसी सहकार्य र साझेदारीबाट सामना  गर्ने  विषयलाई प्राथमिकता दिने काम गर्न जोड दिने प्रवक्ताले बताएका छन् । 

चिनियाँ विदेश मन्त्रालयको ‘राष्ट्रपति सहभागी नहुने’घोषणा अघिसम्म अन्तरराष्ट्रिय सञ्चारमाध्यममा ‘सी दिल्ली जाने र नजाने’ अनुमान र अड्कलबाजी व्यापक थिए  तर चीन यो विषयमा  मौन बसेको थियो । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति नयाँदिल्लीमा हुने विश्व नेताहरूको सहभागी नहुने खबरले आफू ‘निराश’ भएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्