
हेल्लो सरकारको २४ घण्टे सेवा शुरूआतपछि गुनासो आउने क्रम बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेका थिए ।
गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत् गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।
नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ शुरूआतको लागि शुभकामना दिन फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।
यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिक बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत् गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यस्तै प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।