११ असार २०८३, बिहीबार

पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

भदौ १९, २०८०
चितवन
पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “चार–पाँच दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।” अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेको उनले जानकारी दिए । 

यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ । तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उनले बताए ।
 
यस आर्थिक वर्षका लागि रु पाँच करोडमात्रै बजेट विनियोजन भएको छ । थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भइरहेको जनाउँदै उनले कात्तिक महिनामा बजेट माग गरिने बताए । 

हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७७ असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्ने थियो । कोरोना, निर्वाचनलगायत विभिन्न कारणले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको छ । नयाँ सम्झौताअनुसार आगामी मङ्सिरको २३ गतेसम्म सडक विस्तार गरिसक्नुपर्ने हुन्छ ।
 
रु एक अर्ब २३ करोडको लागतमा पुल्चोक–गोन्द्राङ सडक छ लेनमा विस्तारको काम भइरहेको हो । 

salt training

कमेन्ट गर्नुहोस्