
यही भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
कृष्ण जन्माष्टमीको अवसर पारेर बुधवार मैथिली र नेपाली भाषा समिश्रण रहेको गीत सार्वजनिक गरिएको हो ।
जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना, हर्कुलस बस्नेतको संगीत, संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर छ ।
फिल्मकी मुख्य अभिनेत्री सुहाना थापा र बाल कलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । राजेश श्रेष्ठले खिचेको गीतलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् ।
झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रमाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ ।
सुनील कुमार थापाको निर्माण रहेको फिल्मको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो ।
झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद, पुरुषोत्तम र सरिनले संवाद लेखेका छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।