
सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा १ सय ८ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ ।
मङ्गलवार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराएका हुन् ।
सो अवसरमा अर्थमन्त्री यादव र मलङ्गवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्तरुपमा पार्कको उद्घाटनसमेत गरेका थिए ।
कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले यो योजना मधेश प्रदेशकै गौरवका रुपमा रहेको बताए । ‘मधेश प्रदेशमा हजारौं योजना छन्, सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्ने योजना मधेश प्रदेशकै गौरवका रुपमा रहेको छ’ उनले भने ।

राष्ट्रिय झण्डाले सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनको विश्वास छ । “यो देशमा पटक-पटक मधेसीले राष्ट्रियताको परिचय दिनुपर्छ”, अर्थमन्त्री यादवले भने, “कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।”
देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौंमा खोज्ने गरेको टिप्पणी गर्दै उनले भने, “राष्ट्रियता देखाउनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।” अर्थमन्त्री यादवले आगामी दिनमा मलङ्गवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गरिनेसमेत बताए ।
मधेश प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त रु ३० लाखको लागतमा मलङ्गवा नगरको गौरवका रुपमा पार्क निर्माण गरी राष्ट्रिय झण्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए ।
कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिकोसमेत सहभागिता थियो ।