
घरेलु टोली पाकिस्तानले एसिया कप क्रिकेटको सुपर ४ को खेलमा बंगलादेशमाथि ७ विकेटको फराकिलो जित हात पारेको छ । जितका लागि १९४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा मात्र ३ विकेट गुमाएर सजिलै पूरा गर्यो ।
पाकिस्तानको जितमा ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, मोहम्मद रिजवान ७९ बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा नट आउट रहे ।
यसैगरी, ओपनर फखार जमाम २०, बाबर आजम १७ रनमा आउट भए भने र अघा सलमान १२ रनमा नटआउट रहे ।
बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले समान १–१ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।
यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जिजेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमै सबै विकेट गुमाएर १९३ रन मात्र बनाएको थियो ।
बंगलादेशका मुशाफिर रहिम र कप्तान शकिब अल हसनले अर्धशतकीय पारी खेलेका थिए ।
रहिमले सर्वाीधक ६४ तथा हसनले ५३ रन बनाए ।
पकिस्तानका हरिस रैफले सर्वाधिक ४ तथा नसिम शाहले ३ विकेट लिए । सुपर ४ मा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन् । अफगानिस्तान र नेपाल भने पहिलो चरणबाटै बाहिरिएका थिए ।
पकिस्तान र बंगलादेशबीचको यो खेल सुपर ४ को पहिलो हो । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष २ टोली फाइनल पुग्नेछन् । एउटाले उपाधि जित्नेछ ।