२५ जेठ २०८३, सोमबार

पोखरामा २३ वर्षपछि मनाइयो बाघजात्रा, ‘बाघ’ मारेपछि सकियो

भदौ २१, २०८०
काठमाडौं
पोखरामा २३ वर्षपछि मनाइयो बाघजात्रा, ‘बाघ’ मारेपछि सकियो

अन्नपूर्ण–पोखरामा सोमवारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा बुधवार सकिएको छ । पोखराको बाघजात्रा आयोजक समितिले बाघजात्राको सुरुआत गरेको थियो । 

पोखराका नेवार समुदायले २३ वर्षपछि बाघजात्रा मनाएका हुन् । विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो । त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । तीन दिनसम्म मौसमले साथ दिएकाले भव्यरूपमा सम्पन्न भएको उनले सुनाए । ‘सबैभन्दा पहिला त भगवान्लाई धेरै–धेरै धन्यवाद छ । यो तीन दिनमा मौसमले राम्रो साथ दियो,’ समितिका अध्यक्ष श्रेष्ठले भने, ‘२३ वर्षपछि भएको जात्रालाई अब निरन्तरता दिनका लागि पाँच÷छ वर्षमा आयोजना गर्छौं ।’

उनका अनुसार पहिलो दिन भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छे हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको थियो । अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवाः छेबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेको उनले बताए । 

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । 

२३ वर्षपछि भएको बाघजात्रा भव्य सफल भए पनि केही कमजोरी र चुनौती रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिए । ‘कार्यक्रम भव्यरूपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे,’ उनले भने, ‘२३ वर्षअघि जति उपस्थिति थियो त्यति हुन सकेन । यसमा पोखरामा रहेका कतिपय सङ्घसंस्थाहरूमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।’

जात्रामा मुस्ताङी समुदाय, मगर समुदायले साथ दिएको उनले बताए । यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समूह)ले विभिन्न साँस्कृतिक नृत्यहरू प्रदर्शन गरेको उनले जानकारी दिए । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिएको र त्यससँगै जात्रा अन्त्य भएको सचिव उलकले बताए । –रासस

salt training

कमेन्ट गर्नुहोस्