
२०६१ सालदेखि हरेक वर्ष नियमित रुपमा तीज गीत ल्याउँदै आएकी गायिका विष्णु माझीले यसपटक पनि त्यसलाई निरन्तरता दिइन् ।
नजिकिँदै गरेको तीजको माहोलमा उनको गीतको प्रतीक्षा फ्यान, शुभचिन्तक एवं स्रोता–दर्शकले गरिरहेका थिए ।
बुधवार बेलुका ‘पुतलीको भट्टी–१९’का रुपमा उनले ‘बलमा...’बोलको गीत सार्वजनिक गरिन् ।
यो कोसेली सार्वजनिक गर्दै विष्णुले आफ्नो गीतको प्रतीक्षामा रहेका स्रोता–दर्शकहरु खुशी तुल्याइन् ।
तर, उनको तीज गीतलाई लिएर स्रोता दर्शकहरुको सन्तुष्ट भने हुन सकेनन् ।
कतिपय स्रोता–दर्शकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अपेक्षा गरेअनुसारको गीत नआएको बताएका छन् ।
कतिपयले गीतको कथावस्तु नबुझेको प्रतिक्रिया दिएका छन् । धेरैले ‘बलमा...’को अर्थ नै नबुझेको बताएका छन् । केहीले मोडल नसुहाएको समेत बताएका छन् । युट्युबमा हेर्ने हो भने पनि गीत मन नपरेको प्रतिक्रिया दिनेहरु यसपटक धेरै देखिएका छन् ।
चन्द्रकला खनाल नामबाट युट्युबमा प्रतिक्रिया छ – ‘विष्णु माझीको गीत आउँदैमा सबै राम्रो नै लाग्नुपर्छ भन्ने छैन । मलाई चाहिँ यो गीत खासै मन परेन ।’
अर्का रमन पोखरेल नामक प्रयोगकर्ताले लेखेका छन्, ‘विष्णु माझीको स्वर भएर मात्र सुन्या हो है, स्वरमात्र मन पर्यो अरू भन्या त्यस्तै हो ।’
कतिपयले विगतको गीत ‘चरी जेलैमा’ जस्तो नआएको बताएका छन् ।
विष्णुको स्वरको भने सबैले प्रशंसा नै गरेका छन् । युट्युब भ्युजको सन्दर्भमा बिहीवार दिउँसोसम्म २१ घण्टामा ६ लाख हाराहारीले गीत हेरेका छन् । विष्णुको गीतको भ्युज पनि अपेक्षा गरेअनुसारको होइन ।
गीतमा विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन् । साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन् । मौसम हिमालीले कोरियोग्राफी रहेको भिडियोलाई निर्माण एवं निर्देशन सुन्दरमणिले नै गरेका हुन् ।
शम्भु चालिसेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीत सुन्दरमणि र विष्णुकै सपना म्युजिक इण्डष्ट्रीज नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।
विष्णु तीज गीतमा सबैभन्दा धेरै भाग ल्याउने गायिका हुन् । लोकदोहोरीमा सबैभन्दा धेरै हेरिने गीतमा पनि विष्णुले रेकर्ड कायम गरेकी छन् ।