
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश कविहरूलाई पुरस्कार प्रदान गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवका उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उमेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) लगायत दश कविहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।
सो अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने बताएका थिए ।
स्रष्टाहरूले नेपाली समाजको सूक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए । उनले प्रतिष्ठानका प्रकाशनहरू राष्ट्रपति पौडेललाई प्रदान गरेका छन् ।