
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिदिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले लिएको विश्वासको मतलाई बिहीवार बदर गरिदिएको हो ।
साथै, संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न समेत परमादेश जारी भएको छ ।
थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई सभाध्यक्ष इस्राइल मन्सुरीले पनि मतदान गरेका थिए ।
सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका थिए ।
थापाले प्रदेश सभाबाट पाएको विश्वासको मत खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश मागेका थिए ।
सर्वोच्चले कार्कीको मागबमोजिम परमादेश जारी गरिदिएको हो ।
अब प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलका संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने छ ।