
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाएर कर्मचारीलाई थप उत्प्रेरित गरिने उनले बताए ।
निजामती सेवा दिवसको अवसरमा शुक्रवार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उच्च मनोबलयुक्त, निष्पक्ष र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
‘मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध छ’ प्रधानमन्त्रीले भने, ‘भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई थप उत्प्रेरित गरिने विश्वाससमेत दिलाउँछु ।’
लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीवार मन्त्रिपरिषद् बैठकले संसदमा पठाउने निर्णय गरेको उल्लेख गर्दै प्रचण्डले यथाशक्य छिटो पारित गर्न दलीय सहमति खोजिने विश्वास व्यक्त गरे ।