उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । मृतकको सङ्ख्या बढ्नसक्ने समाचारमा उल्लेख छ ।
कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा बारम्बार औद्योगिक दुर्घटना हुने गरेका छन् । यो वर्षको शुरूमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए ।
हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो ।