काठमाडौं ३ असोज– सरकारले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक २०७४ संसदमा पेश गरेको छ ।
व्यबस्थापिका संसदको मंगलवार बसेको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले विधेयक संसदमा पेश गरेका हुन् ।
विधेयकमा राष्ट्रपतिको उम्मेदवार मनोनयनका लागि २५ जना सांसद प्रस्तावक र अन्य २५ जना समर्थक रहनुपर्ने व्यबस्था गरिएको भन्दै नेमकिपाले आपत्ति जनाएको छ ।
विधेयकमा राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १ लाख र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि ७५ हजार रुपैयाँ धरौटी राख्न प्रस्ताव गरिएको भन्दै नेमकिपा सांसद प्रेम सुवालले आपत्ति जनाए ।
‘यसअघि नेमकिपाले उम्मेदवारी दिएकाले आगामी दिनमा नेमकिपाको उम्मेदवारी रोक्न राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारीका लागि २५ जनाले प्रस्ताव गर्नुपर्ने व्यबस्था गरिएको छ,’ संसदमा विधेयकमाथि विरोधको सूचना पेश गर्दै सुवालले भने, ‘राष्ट्रपतिको उम्मेदवार बन्न १ लाख र उपराष्ट्रपतिका लागि ७५ हजार धरौटी लिने प्रावधान गलत छ । राष्ट्रपतिका लागि ३ हजार र उपराष्ट्रपतिका लागि २ हजारको व्यबस्था गरे हुन्छ ।’
विरोधको सूचना माथि जवाफ दिँदै मन्त्री शर्माले प्रस्तावक र समर्थक धेरै हुँदैमा तथा धरौटी रकम धेरै थोरैले तात्विक फरक नपर्ने बताए । यसअघि नेपालमा दुईपटक राष्ट्रपतिको चुनाव भइसकेको छ । यसअघि राष्ट्रपतिको उम्मेदवार बन्न एक जना प्रस्ताव र एकजना समर्थक भए पुग्ने व्यबस्था थियो ।