सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् ।
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।
सामूहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन शुरू गरेका हुन् । हिजो ३ घण्टा 'पेनडाउन' गरेका कर्मचारीले सोमवार कार्गो जाँचपास शाखामार्फत् हुने निकासी-पैठारीसम्बन्धी सम्पूर्ण कार्य बन्द गरेका हुन् ।
आफूहरूका माग सम्बोधन नभए भोलि पनि विरोधका कार्यक्रम जारी राख्ने एक कर्मचारीले लोकान्तरलाई बताए । २७ गतेभित्र आफूहरूका माग सम्बोधन नभए यात्रु जाँचपास शाखाबाट सम्पादन हुने सम्पूर्ण काम प्रभावित गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
माग पूरा गर्न उनीहरूले अर्थमन्त्री, अर्थ सचिव र भन्सारका महानिर्देशकलाई सम्बोधन गर्दै ५ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
यसैबीच, भन्सारका केही कर्मचारीहरू सहमति खोज्न भन्दै अर्थ मन्त्रालय पुगेका छन् । कर्मचारी युनियनले सहमतिका लागि पहल गर्ने भन्दै भन्सारका कर्मचारीका प्रतिनिधि अर्थ मन्त्रालय पुगेका हुन् । ‘हामी सहमति खोज्न अर्थ मन्त्रालय जाँदैछौं, सहमति नभए आन्दोलनका कार्यक्रम जारी रहन्छ,’ भन्सारका एक कर्मचारीले लोकान्तरसँग भने ।