०४ साउन २०८३, सोमबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : भन्सारका कर्मचारीको आन्दोलनदेखि सुन प्रकरणको प्रतिवेदन बुझाउने तयारीसम्म

भदौ २६, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : भन्सारका कर्मचारीको आन्दोलनदेखि सुन प्रकरणको प्रतिवेदन बुझाउने तयारीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
हृदयाघातका कारण एमाले उपाध्यक्ष तथा बहालवाला प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको असामयिक निधन भएको छ । 
बालुवाटारस्थित निवासमा अचानक हृदयाघात भएपछि परिवारले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए । 
विसं २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङले नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताका रुपमा छवि बनाएका थिए । 
स्वर्गीय नेम्वाङका स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई हृदयाघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा त्यहीँ निधन भएको जानकारी दिए ।
००००
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका छन् । 
सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन शुरू गरेका हुन् । आइतबार ३ घण्टा पेनडाउन गरेका कर्मचारीले सोमवार कार्गो जाँचपास शाखामार्फत् हुने निकासी(पैठारीसम्बन्धी सम्पूर्ण कार्य बन्द गरेका हुन् ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अगाडि बढ्ने सम्भावना कम बन्दै गएको छ । 
पहिलो चरणको अनुसन्धानपछि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरे पनि दोस्रो चरणको अनुसन्धान अगाडि बढ्ने सम्भावना कम भएको हो ।
००००
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक (डीजी)मा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा  मन्त्रालय भएको थियो 
तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
००००
समाजवादी मोर्चाका नेताहरूले अबको मिसन समाजवादको लक्ष्य रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी जसपा र नेकपासम्बद्ध समाजवादी मोर्चाले विराटनगरमा सोमवार आयोजना गरेको सन्देश सभामा बोल्ने नेताहरूले यस्तो बताएका हुन् । 
नेताहरूले  भ्रष्टाचार, बेतिथिका विरुद्ध सडकमा लाखौँ जनता उतार्नेदेखि लिएर घर–घरमा समाजवादी मोर्चा बनाउने उद्घोष गरेका छन् ।
००००
नेपाली कांग्रेसद्वारा आयोजित ऐतिहासिक ‘बिपी साहित्य महोत्सव—२०८०’ को दोस्रो सोमबार विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बिहान “वीर गणेशमान” चलचित्र प्रदर्शन गरी प्रारम्भ गरिएको कार्यक्रम त्यसपछि भारतीय प्राध्यापक आनन्द कुमारको ‘माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेसी सोललिजम टुडे’ कार्यपत्र प्रस्तुत गरियो । दिनभर विभिन्न सत्र पनि सञ्चालित थिए । 
००००
नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरसहित सात सदस्यीय प्रहरी टोली गणतन्त्र कोरिया प्रस्थान गरेको छ । सुङक्युङ्कवान विश्वविद्यालय कोरियाको आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म सञ्चालन हुने ‘साइबर अपराध काउन्टरमेजरहरूमा रणनीतिक नेतृत्व पाठ्यक्रम’ कार्यशालमा भाग लिन सोमबार साँझ उक्त टोली कोरिया प्रस्थान गरेको हो ।
००००
एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ ।
००००
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजी सुन प्रकरणको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
उक्त प्रवितेदन मंगलवार सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेकोे सीआईबीका एक अधिकारीले जानकारी दिए ।
००००
जम्बो टोली लिएर अमेरिका जान लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण टोलीका सदस्यहरूको संख्या घटाउन निर्देशन दिएका छन् ।
प्रचण्डले मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रमण टोलीमा सहभागी हुने सदस्यको संख्या घटाउन निर्देशन दिएका हुन् ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको विरोधमा सरकारले चालिरहेका कदम रोक्न नयाँ षड्यन्त्र र तिकडम शुरू भएको बताएका छन् । षड्यन्त्र र तिकडम भए पनि यो अभियानबाट सरकार पछि नहट्ने उनले बताए । 

ज्यापु समाजले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली जनताले समर्थन गरेको भ्रष्टाचारविरुद्धको अभियान असफल पार्न विभिन्न हत्कण्डा देखा परेको बताएका हुन् ।
००००
अखिल नेपाल फूटबल संघ (एन्फा)को विवाद उत्कर्षमा पुगेको छ । पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वको टोलीले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै ४० प्रतिशतभन्दा बढी सदस्यले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई आज हस्ताक्षर बुझाएसँगै विवाद उत्कर्षमा पुगेको हो ।
००००
कर्णाली प्रदेशको मुगु विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङगरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् र्पुयाएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगहरूको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग भेटेपछि प्रचण्डले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोनगरी विवाद समाधान नभएसम्म विद्युत आपूर्ति बन्द नगर्न निर्देशन दिएका हुन् ।
००००
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल थालेका छन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले दुई दिने बैठक आयोजना गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्