
सरकारले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
गएराति हृदयघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानको साथ गरिने र सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ । साथै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि सरकारले गरेको छ,’ बैठकपछि पर्यटनमन्त्री सुदन किराँतीले भने, ‘संविधान निर्माण प्रक्रियामा खेल्नुभएको भूमिकालाई सम्मान गर्दै उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ ।’

नेम्वाङ गएराति आफ्नै निवासको बाथरुममा अचेत अवस्थामा भेटिएका थिए । राति नै शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई तत्काल मृत घोषणा गरिएको थियो ।
नेपालको संविधान निर्माणको क्रममा समन्वयकारी भूमिका निर्वाह गर्नमा उनको महत्वपूर्ण भूमिका थियो । छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।
शिक्षण अस्पतालबाट उनको शव श्रद्धाञ्जलीको लागि ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा राखिँदैछ ।