असोज ८, २०८०
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भएको हो ।
नेम्वाङले प्रतिनिधित्व गर्ने दल एमाले हो । उनी पार्टीको उपाध्यक्ष एवं संसदीय दलको उपनेता पनि थिए । तर, संविधान र कानून बुझेका नेम्वाङ समन्वयकारी भूमिकाका कारण सबैका लागि स्वीकार्य पात्र थिए । सत्तापक्ष र विपक्षबीच हुने राजनीतिक बेमेल, पौँठेजोरीबीच सभामुख भनेकै नेम्वाङ हुन् भन्ने ब्रान्ड बनाउन उनी सफल भएका थिए ।
यति मात्रै होइन, एकअर्काको खोइरो खन्ने नेपाली राजनीतिक वृत्तमा नेम्वाङ मात्रै यस्ता अनुहार हुन् जसलाई फरक–फरक राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मले सम्मान र आदर गर्छन् ।
उनै मिजासिला, तनावबीच पनि दललाई सहमतिको बाटोमा अग्रसर गराउने नेम्वाङको निधनलाई एमालेले राष्ट्रिय राजनीतिकै क्षति भनेर व्याख्या गरेको छ ।
‘संविधान निर्माणका लागि उहाँले खेल्नुभएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुईपटक संविधानसभाको अध्यक्षको भूमिका उहाँले कुशलतापूर्वक निभाउनुभयो । सभाध्यक्ष, राष्ट्रियसभा, प्रतिनिधिसभा, लेखा समितिको सभापति र हरेक मोर्चा र भूमिकामा खरो सावित हुनुभएको छ,’ नेम्वाङको निधनका विषयमा बसेको सचिवालयको आकस्मिक बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँ मृदुभाषी र सरल हुनुहुन्थ्यो । जस्तोसुकै तनावकाबीच सबै पक्षलाई समन्वयमा ल्याउने र निकास निकाल्न सक्ने व्यक्तित्वको अभाव नेपाली राजनीतिक आदोलनमा लामो समयसम्म खट्किनेछ ।’
२०५९ सालमा ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्ध नेम्वाङले देखाएको अग्रसरताले उनलाई सभामुख बनाइएको थियो । ज्ञानेन्द्र प्रतिगमनपछि फरक दलको भए पनि क्षमता र समन्वयको फ्युजनले नेम्वाङ एमाले मात्र नभएर अन्य दलका लागि पनि स्वीकार्य भएको कांग्रेस नेता कृष्णप्रसाद सिटौला बताउँछन् ।
‘ज्ञानेन्द्रको कदमपछि सात दलको आन्दोलनका क्रममा नेम्वाङ एमालेबाट कार्यक्रम तय गने कार्यदलमा हुनुहुन्थ्यो । कांग्रेसले पनि उहाँलाई विश्वासपात्र नेताको रूपमा लिएको थियो । पछि सात दल र माओवादीबीच १२ बुँदे सहमतिको कार्यक्रम तय गर्नमा समेत उहाँको प्रमुख भूमिका रह्यो,’ सिटौला स्मरण गर्छन्, ‘निरकुंशताविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रमुख नेता एकातिर गिरिजा हुनुभयो, अर्कातिर आन्दोलनका क्रममा देखाएको सहमति, समन्वय र प्रभावकारी भूमिकाकै कारण नेम्वाङजीलाई सर्वसम्मत रूपमा हामीले पुनःस्थापित संसद्को सभामुख बनाएको हौं ।’
पुनःस्थापित प्रतिनिधिसभाको सभामुख हुँदै २०६४ सालको पहिलो संविधानसभापछिको पेचिलो राजनीतिक वातावरणलाई नेम्वाङले सही दिशा दिने काम गरेका थिए । २०६४ मा भीमकाय दल बनेर उदाएको माओवादी र रक्षात्मक बनेका कांग्रेस–एमालेबीच समन्वय र सह-अस्तित्व कायम गराउन नेम्वाङ सबैका साझा र सहमतिका पात्र बनेर काम गरेका थिए । यसैले फेरि दलहरूले सर्वसम्मत रूपमा नेम्वाङलाई नै संविधानसभा अध्यक्षका रूपमा दोहोर्याए ।
कठिन मुद्दामा मध्यमार्गी प्रस्ताव र निकास
२०६४ सालको पहिलो संविधानसभा दलहरूका आफ्नै राजनीतिक दाउपेचका कारण विघटनसम्म पुगेको थियो । तर, पहिलो संविधानसभाले बसाएको जगमा टेकेरै २०७० सालको निर्वाचनले दुई वर्षमै संविधान बनाउन सकेको थियो । यो दुवै परिवेशमा नेम्वाङले दशतिर फर्किएका दललाई सहमतिको बाटोमा उन्मुख गराएका थिए । जटिल बन्दै गएका शासकीय स्वरूप, संघीयता, नागरिकता, न्यायप्रणालीजस्ता विषयमा दलहरूलाई एकै ठाउँमा उभ्याउने कामको नेतृत्व नेम्वाङले नै गरेका थिए ।
‘सहमति सहकार्य र एकता गरेर दलबीच समझदारी गरेर जाने, क्षमता र कौशलता सुवासजीमा थियो । उहाँ पहिलो सविधानसभबाट संविधान नआउँदा खिन्न देखिनुहुन्थ्यो,’ संविधान निर्माणमा भूमिका खेलेका सिटौला भन्छन्, ‘पहिलो अनुभव र कमजोरीमा टेकेर दोस्रोमा प्रारम्भदेखि काम गर्नुपर्छ भन्नेमा हामी दृढ थियौं । यसैले जिम्मेवार भएर छिटोभन्दा छिटो संविधान बनाउन पाँचवटै समितिबीच समन्वय र समझदारी गराउने काममा उहाँले प्रभावकारी भूमिका खेलेकैले दोस्रोपटक दुई वर्षमै संविधान जारी हुन सकेको हो ।’
दोस्रोपटक पनि संविधान जारी हुन नदिने षडयन्त्रविरुद्ध नेम्वाङ सशक्त भएर उभिएको सिटौला बताउँछन् ।
‘दोस्रोपटक पनि कतिपय विषयमा विवाद नभएका होइनन्, तर पहिलेको अनुभव र असमझदारीबाट सिक्नुपर्छ भन्नेमा नेम्वाङले दलीय समन्वय र सक्रियता देखाउनुभयो,’ सिटौला भन्छन्, ‘गणतन्त्र, संघीयताजस्ता परिवर्तनका मुद्दा र विषयप्रति षड्यन्त्र नभएको होइनन् । तर यी सबैविरुद्ध नेम्वाङ जिम्मेवार भएर संविधानसभाको नेतृत्व गर्न सफल हुनुभयो ।’
दलका रूपमा एमालेबाट प्रतिनिधित्व गर्ने भए पनि नेम्वाङ मुद्दामा दलभन्दा माथि उठ्नुपर्छ भन्ने मान्यता राख्थे ।
‘हामी फरक दलबाट थियौं, तर हामी दुवैको पृष्ठभूमि कानूनी थियो । राजनीति र कानून एकअर्कासँग सम्बन्धित छन् । कानूनको गहिरो ज्ञान हुँदा कसरी समन्वय र सहकार्य गरेर जान सकिन्छ भन्नेमा हामी दृढ थियौं । देश र समाजका लागि पार्टीको निर्णयभन्दा माथि उठेर निकास दिनुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो,’ सिटौला भन्छन्, ‘मुद्दामा टसमस नहुने ठूला नेतालाई पनि बुझाउन सक्ने क्षमता उहाँमा थियो । नेपाल सार्वभौम र स्वाधीन देश हो । नेपालको आफ्नो कानून र नीति आफैं बनाउनुपर्छ बरु संशोधन गरेर सच्याउन ठाउँ सधैं रहन्छ भनेर निकास दिन सक्ने राष्ट्रवादी र देशभक्त चरित्रको नेतालाई हामीले गुमाएको छौं । उहाँको निधनले एमालेलाई मात्रै क्षति भएको छैन, सिंगो राष्ट्रकै क्षति हो । उहाँको निधनमा म श्रद्धाञ्जली अर्पण गर्छु ।’
संविधानविद् विपिन अधिकारी नेम्वाङले संविधान निर्माण क्रममा खेलेको भूमिकालाई देशले सदैव सम्मानले स्मरण गर्ने बताउँछन् ।
‘मुलुकको दुर्भाग्य, निःशब्द छु ! अकल्पनीय हुन गएको छ ! कानूनका पूर्व प्राध्यापक, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको असामयिक निधनले नेपालले एउटा शालीन, अनुभवी, भरपर्दो नेतृत्व गुमाएको छ,’ अधिकारीले लेखेका छन्, ‘संविधान निर्माणका समयमा उहाँले निभाउनुभएको महत्त्वपूर्ण भूमिका देशले सदैव सम्मानसाथ स्मरण गरिरहने छ । उहाँको विद्यार्थी हुन पाउनु तथा उहाँसँग निरन्तर सहकार्य गर्न पाउनु मेरो शौभाग्य थियो । हृदयदेखि भावपूर्ण श्रद्धाञ्जली !’
सही र गलत भनेर छुट्टयाउन सक्ने मात्रै होइन, आफ्नै दलका सिनियर नेतालाई पनि ‘कन्भिन्स’ गर्न सक्ने सामर्थ्यले समेत नेम्वाङसज्जित थिए । आफ्नै अध्यक्ष केपी ओलीले गरेको दुई–दुईपटकको संसद् विघटनको समेत नेम्वाङ विपक्षमा थिए । उनले सार्वजनिक रूपमा संसद् विघटनको विरोध त गरेनन्, तर आफू निकटका नेता, वकिल, शुभेच्छुकलाई विघटनविरुद्ध बोल्न लगाएर अप्ठ्यारोमा परेको भनेर ओलीले बताउने गरेको चर्चा छ ।
केही समय अगाडिसम्म एमालेले कुनै प्रस्ट र यथेष्ट कारणविनै महिनौंसम्म संसद् अवरुद्ध गरेपछि नेम्वाङले धुलिखेल पुगेर आफ्नो ‘शान्त शैली’ मा विरोध गरेका थिए । नेम्वाङले भनेका थिए, ‘संसद्मा अवरोध गर्नु नियमसंगत होइन, तर दलहरूले संसद्मा राजनीतिक रूपमा अवरोध गर्ने गर्छन्, जसले अवरोध गरे पनि उनीहरूले त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ ।’
संसद् अवरोधको अडानबाट टसमस नभएका ओली कानूनका सबै आयाम बुझेका नेम्वाङले यस्तो अभिव्यक्ति दिएपछि संसद् खुलाउन तयार भएका थिए ।
कानूनमा स्नातक, वर्षौंसम्म वकालत र प्राध्यापन, राष्ट्रिय सभा सदस्य, संविधानसभाको सभाध्यक्ष, सभामुख, कानूनमन्त्री, लेखा समितिको सभापति, सांसदजस्ता पदमा बसेर काम गर्ने मौका नेम्वाङले पाए ।
राजनीतिक विश्लेषक झलक सुवेदी संविधानमाथि नै प्रश्न उठाउँदा अपनत्व लिने नेता नेम्वाङ भएको बताउँछन् । ‘कतिपयले संविधानमाथि प्रश्न उठाइरहेका छन् । सुवास नेम्वाङ संविधानमाथि अपनत्व ग्रहण गर्ने प्रतिबद्ध नेता थिए,’ सुवेदी भन्छन्, ‘उनको निधनमा देशले एउटा समन्वयकारी नेता गुमाउनुपरेको छ ।’
अरू सभामुखका लागि मार्गदर्शक
नेम्वाङपछि ओनसरी घर्ती, कृष्णबहादुर महरा, अग्नि सापकोटादेखि देवराज घिमिरेसम्म सभामुख नभएका होइनन्, तर संसदीय मूल्य मान्यता, विधि, परम्परा र अभ्यास बुझ्ने/बुझाउने कुरामा नेम्वाङको विकल्प थिएन ।
संसद्मा कुनै दलको विरोध वा अवरोध देखिँदा अरू सभामुख आत्तिने र व्यावहारिक हिसाबले रुलिङ गर्न हड्बडाउने गरेको देखिन्छ । तर नेम्वाङ नियम, कानून र अभ्यासको अनेक फेहरिस्त दिँदै अप्ठ्यारा र अराजक हुँदै आएका बैठकलाई पनि शान्तपूर्वक चलाउने सामर्थ्य राख्थे । उनीपछिका सभामुखले बैठक सञ्चालनका कतिपय जटिल विषयमा उनीसँग परामर्श गर्ने गरेका थिए ।
राजनीतिक विश्लेषक मुमाराम खनाल कानूनी ज्ञानलाई राजनीतिक सन्दर्भसँग जोड्ने र समन्वय गर्ने नेता मुलुकले गुमाएको बताउँछन् ।
‘नेपालमा सन्तुलन, भद्रता र संयमजस्ता दृष्टिकोण राख्ने नेता कम नै मिलेका छन्, सभामुखमा त झन् छँदैछैनन् । विषयवस्तुको ज्ञान र कानूनी ज्ञाता भएकाले उहाँको क्षमता मुलुकले उपयोग गर्न सक्यो,’ खनाल भन्छन्, ‘आफ्नो ज्ञानलाई राजनीतिक सन्दर्भमा जोड्ने र निकास दिने नेता देशले गुमायो । यो देशका लागि अपूरणीय क्षति हो ।’
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
सदियौँदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेको संकेत मिल्न थालेको छ । देशका विभिन्न ठाउँमा भएका पछिल्ला केही घटनाले यस्तै संकेत गर्छन् । केही समयअघि धरानमा गोरु काट...
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार हाङचउमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटको टाँक नलगाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चिनियाँ राष्ट्रपतिलाई भेट्दा कूटनीतिक...
नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूबीच ध्रुवीकरण देखिन थालेको छ । अझै लुम्बिनी प्रदेशमा निर्वाचनबाट नेतृत्व चयन भएपछि कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछ...
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...