
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन तयार पारेको छ ।
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट बरामद सुनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका ३२ र फरार रहेका १८ गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित सीआईबीले सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
प्रतिवेदन बुझाउनुअघि सीआईबीले बुधवार पत्रकार सम्मेलन गरेर विवरणहरू सार्वजनिक गर्दैछ ।
पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकासहित १८ जना फरार अभियुक्तहरूलाई पनि प्रतिवादी बनाउनुपर्ने राय पेश गरिएको सीआईबीका एक अधिकारीले लोकान्तरसँग बताए ।
विमानस्थल भन्सार पास भइसकेको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो ।
शुरूआति १८ दिन विभागले अनुसन्धान गरेर त्यसपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो ।