
जुम्लाको सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ ।
कर्मचारी अभावमा नागरिकता वितरण कार्य ठप्प हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि नागरिकता वितरण कार्य प्रभावित बनेको हो ।
सिञ्जा क्षेत्रमा पर्ने हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो । यहाँका नागरिकलाई नागरिकता लिने निकै सहज हुने गरेको थियो ।
अहिले सो सेवा बन्द हुँदा नागरिकहरुलाई फेरि दुःख भएको स्थानीयवासी दलसिंह रोकायाले जानकारी दिए ।
इलाका प्रशासनमा नागरिकता लिने मानिस गइरहे पनि कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । इलाका प्रशासन कार्यालयमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा सेवा लिन आएका सेवाग्राही सेवा नलिएर घर फर्किने गरेको सिञ्जाका स्थानीयवासी बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता, दश दिनअगाडि त्यहाँ निमित्तका रुपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्को ठाउँ सरुवा भएपछि अरू कर्मचारीको खोजी भइरहेको छ ।
आफूले त्यहाँको कर्मचारी व्यवस्थापन गरिदिन भनी गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिए।
इलाका प्रशासन कार्यालयमा कर्मचारीको व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकताको सेवा लिन सकिने प्रजिअ घिमिरेको भनाइ छ ।