२५ असार २०८३, बिहीबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया चाँडै अघि बढ्छ : रेनु दाहाल

भदौ २९, २०८०
चितवन
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया चाँडै अघि बढ्छ : रेनु दाहाल

अलपत्र अवस्थामा रहेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छिन् । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि रङ्गशाला अलपत्र बनेको थियो ।

आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा प्रमुख दाहालले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको र जसरी भए पनि रङ्गाशाला बनाउने बताइन् ।

उनले भनिन्, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन् । उनले भनिन्, “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।” 

रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल उनले बताइन् । 

गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिइन् ।

रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ । 

उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्