१६ असार २०८३, मंगलबार
सामूहिक हत्या प्रकरण

तीनकुने हत्याकाण्ड : अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

भदौ ३०, २०८०
काठमाडौं
तीनकुने हत्याकाण्ड : अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । 

उनका अनुसार समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन् ।

गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती र आमाको समेत हत्या भएको हो ।

कुमारसहित उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको हो ।

कुमार मिलमा २५ वर्षदेखि काम गर्दै आएका थिए । कुमारका आफन्तले बताएअनुसार उनका बुबा पनि पहिले सोही मिलमा काम गर्थे । बुबाको केही महिनाअघि मृत्यु भएको थियो । आज कुमारसहित श्रीमती अम्बिका र आमा सुभद्राको एकैपटक हत्या भएको छ । 

श्रीमतीसँग बस्दै आएका कुमारकी आमा भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । उनी कुशे औशीको अवसरमा काठमाडौं आएको आफन्तले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्