
नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको प्रधान सेनापति अन्तर्राष्ट्रिय ‘ट्रि एडभेन्चर’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यस वर्षको छैटौं संस्करणको ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर कम्पिटिसन–२०२३’ प्रतियोगिता आगामी कात्तिक ३ गते सञ्चालन गरिने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
साहसिक खेलको विकास गर्दै यसको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता रहनेछ ।
हालसम्म मित्रराष्ट्र भारतबाट दुई पुरुष टिम, संयुक्त राज्य अमेरिकाबाट एक पुरुष टिम र पाकिस्तान तथा चीनबाट पर्यवेक्षकका रूपमा सहभागी हुने सेनाले जनाएको छ ।
प्रत्येक टिममा चार जना खेलाडी र एक जना कोच/म्यानेजर हुनु पर्ने र उमेर १८ वर्षभन्दा माथि हुनपर्दछ ।
यस इभेन्टमा रनिङ छ दशमलव सात किमी, साइक्लिङ २६ किमी र र्याफ्टिङ ११ किमी गरी जम्मा दूरी ४३ दशमलव सात किमीको रहनेछ ।
नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका सहसेनानी पवित्रजङ्ग राणाले कार्यक्रमसम्बन्धी सार संक्षेप प्रस्तुत गरेका थिए। धादिङको बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाको मूल गेटबाट शुरू भई चरौँदीस्थित रेयल विज क्याम्पमा अन्त्य हुनेछ ।
प्रतियोगितामा विजयी हुने प्रथम पुरुषतर्फ रु एक लाख ५० हजार र द्वितीयलाई रु एक लाख र तृतीयलाई रु ७५ हजार तथा चौथोलाई रु २५ हजार र पाँचौँलाई रु १५ हजार प्रदान गरिनेछ ।
त्यसैगरी महिलातर्फ प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार पुरस्कार दिइनेछ । उक्त प्रतियोगिताको रजिष्ट्रेसन फारम भदौ १९ गतेदेखि असार १५ गतेसम्म रहेको छ ।
नेपाली सेनाले विसं २०७१ देखि धादिङको बैरेनीमा राष्ट्रियस्तरमा यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ । सन् २०१८ देखि अन्तर्राष्ट्रिय टिमहरू सहभागी हुँदै आएका छन् ।