
राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताएका छन् ।
उनले तीजको अवसरमा सबै नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलकसमाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ ।
परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको उनले उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेको बताएका छन् ।
उनले तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्नुपर्ने बताए ।