२४ जेठ २०८३, आइतबार

एमालेका स्व उपाध्यक्ष नेम्वाङबारे अर्का उपाध्यक्ष ज्ञवाली– संविधान बन्न नदिने षड्यन्त्रलाई उहाँले रोक्नुभएको थियो

असोज २, २०८०
बुटवल
एमालेका स्व उपाध्यक्ष नेम्वाङबारे अर्का उपाध्यक्ष ज्ञवाली– संविधान बन्न नदिने षड्यन्त्रलाई उहाँले रोक्नुभएको थियो

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान बन्न नदिने षड्यन्त्र र चलखेललाई अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकेको बताएका छन् ।  मुलुकमाथि गम्भीर षड्यन्त्र हुँदैछ, भन्ने सूचना संविधानसभाका अध्यक्ष नेम्वाङले पाएपछि त्यसको दबाबलाई झेल्दै सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको ज्ञवालीले जिकिर गरे । 

नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषयक मंगलवार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘अब संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्द्रबीच मुलुकमा रोक्ने षड्यन्त्रमा लागेका थिए, यसलाई रोक्ने षडयन्त्र गरेका थिए, नेपालमा सिक्किमको घटना दोहोर्याउन सकिन्छ भनेर योजना बनाएका शक्ति केन्द्रको दबाबलाई नेम्वाङले रोक्नुभयो र मुलुकले नयाँ संविधान पायो ।’ 

संविधानसभाको चुनाव नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा नेम्वाङबाटै राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएका उनको भनाइ थियो । नेम्वाङले दलहरूलाई भेटेर ‘संविधान जारी नभए मुलुक नरहन सक्छ’ भनिरहेको कुराको स्मरण गर्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘उहाँ भन्नुहुन्थ्यो, संविधान जारी भयो तर यो आफँै लागू हुन्न । यसको मर्म र भावनामा टेकेर कसरी हामीले बुझ्छौ ? लागू गर्ने काममा कति इमान्दार हुन सक्छौं ?’

ज्ञवालीले नेम्वाङको निधनले सिंगै देश एकजना व्यक्तिको अभावमा शोकमग्न भएको बताए । 

यस्तै, एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्या अर्यालले भारतीय दबाब, युरोपियन युनियनको चलखेलका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गर्न सकेको बताइन् । 

‘त्यतिबेला धेरै जटिलता थिए, परिवर्तनलाई संस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन । नेपालको संविधान कुन बाटोमा लैजाने ? यो प्रश्न पनि थियो । जसको समाधान संविधानसभाबाट उहाँकै पहलमा भयो ।’

७१ वर्षीय नेम्वाङको गत हप्ता निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्