
संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको शोकसभामा छोरा सुहाङले बुबाकै शैलीमा भाषण गरेका छन् ।
इलाममा आयोजित शोकसभामा नेम्वाङका कान्छा छोरा सुहाङले बुबाकै हुलिया र शैलीमा राजनीतिक परिवार भएकै आधारमा अवसर पाउनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका हुन् ।
‘लोकतन्त्र बलियो बनोस् । सुशासन र सामाजिक न्याय सुनिश्चित होस् भनेर उहाँ लाग्नुभएको हामीले देख्यौं । लोकतन्त्रको असल हिमायती, विचारको हिमायती, बहुदललाई सम्मान गर्नुहुन्थ्यो ।
देशको स्वाधीनताको हिमायती हुनुहुन्थ्यो तर राजनीति बिग्रँदै गएको, जनता निराश भएको तथा संविधान र कानूनले सोच्दै नसोचेको अराजक कार्यप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो’ सुहाङले भने, ‘संविधान र कानूनअनुसार शासन संचालन हुनुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो । म सक्रिय राजनीतिमा छैन । तर बुवासँग राजनीतिक परिवारमा हुर्किएको हो । राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको आधारमा उसैले अवसर पाउनुपर्छ भन्ने म ठान्दिनँ ।’
तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि पनि बुबाको सपना पूरा गर्न लाग्ने उनले बताए । ‘उहाँको पूरा गर्नुपर्ने सपनाको लागि तयार छु । सामाजिक र कानूनी कुन रुपमा अगाडि बढ्न सकिन्छ । म हजुरहरूसँग हातेमालो गर्न तयार छु’ उनले भने, ‘जिल्ला विकास र जनसेवाको काम म आफ्नो तर्फबाट गर्न तयार छु । के गर्न सकिन्छ । छोरा सम्झेर भन्नुहोला ।’
पेशाले वकिल सुहाङले आवश्यक पर्दा राजनीतिक रुपमा पनि आफू तयार हुने सन्देश दिएका हुन् ।
आफ्नो बुबाप्रति इलाम, देश र सरकारले दर्साएको सम्मानप्रति उनले धन्यवाद पनि दिए । ‘यस्तो दुःखद् घडीमा तपाईँहरूसमक्ष आइपुग्छु भन्ने सोचेको पनि थिइँन । १० महिना अगाडिको अझै याद आइरहेको छ । रात दिन खटेर उहाँलाई भोक–प्यास नभनी ५ औं पटक जिताउनुभयो । सबै
युवा, उमेर पुगेका नपुगेका सबैले हर्षोल्लासले बुबालाई जिताउन खटेको मैले देखें’ उनले भने, ‘विजय जुलुसमा खुशी, भरोसा नजिकबाट देख्न पाएँ, यसमा म गर्व गर्छु । उहाँ हामीबीच हुनुहुन्न । परिवारलाई टुहुरो बनाएर जानुभयो । पूरा देशबासीलाई रुवाएर जानुभयो । दैव छन् भने उहाँलाई न्याय भएन । इलाम बासीलाई रुवाएर जानुभयो । सारा देश रोएको देखेँ ।’
अस्पताल, निवास, पार्टी कार्यालय आर्यघाट सबैतिर मानिसको सागर देखेको उनले बताए ।
‘उहाँलाई दिएको ओहदा र सम्मान कहिल्यै बिर्सने छैन । हाम्रो पार्टीले उहाँको लागि तीन दिने शोक र उहाँलाई अन्त्येष्टिसम्मको लागि गर्नुभएको, श्रद्धाञ्जलीको लागि अध्यक्ष केपी शर्मा ओली र अग्रजलाई व्यक्तिगत र पारिवारिक तर्फबाट धन्यवाद’ उनले भने, ‘राजकीय सम्मानको लागि सरकारलाई धन्यवाद । एक दिन बिदा दिनुभएकोमा प्रधानमन्त्री र सरकारलाई आभार । सभामखु, राष्ट्रियसभा अध्यक्ष, पूर्व प्रधानमन्त्री नेताहरू र दुःखको बेलामा निवास, फोन सम्पर्कबाट हामीप्रति देखाउनुभएको समवेदनाप्रति सबैलाई धन्यवाद ।’